विभिन्न अपराधका आराेपी पक्राउ

नेपालखोज २०७९ जेठ ५ गते १८:१४

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरजले ती बालिकालाई सोही महानगरपालिका–१६ स्थित बिराटनगर जुटमिलको गोदाम घरमा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
गोदावरी नगरपालिका–२ गोदावरी पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद १ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब १ लाख ४६ हजार ६ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय सुनिल खड्गी लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताल्चा फोडी दराजभित्र रहेको उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट चोरीका सामान सहित फेला पारी पक्राउ गरेको हो । चोरीमा प्रयोग गरेको बा.४ ख १८५३ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरस्थित सडकमा बा.४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका ६० वर्षीय नर बहादुर खड्काको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । मिनी टाटा चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
दक्षिणकाली नगरपालिका–२ भैसी बजार चाल्नाखेलस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया