शुक्रबार, वैशाख १४, २०८१

बढ्यो मंकीपक्स भाइरसको त्रास, लक्षण तथा रोकथामका उपाय यस्ता !

नेपालखोज २०७९ जेठ ८ गते ९:४३

काठमाडौं । युरोपमा मंकीपक्सको संक्रमण (Monkeypox Infection) देखिएसँगै अमेरिकामा समेत यो दुर्लभ तथा सम्भावित खतरनाक भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार त्यहाँ मंकीपक्सबाट संक्रमित व्यक्तिले हालै क्यानाडाको यात्रा गरेका थिए । अहिले उनको उपचार एक अस्पतालमा भइरहेको छ । अमेरिकी स्वास्थ्य विभाग भन्छ- यो केशबाट जनतालाई कुनै खतरा छैन । यो वर्ष अमेरिकामा देखापरेको मंकीपक्स संक्रमणको यो पहिलो घटना हो ।

यसअघि युरोपका केही देशमा मंकीपक्सका संक्रमित फेला परेका थिए । यसक्रममा यूके मा ७ तथा पोर्चुगल र स्पेनमा केही संक्रमित फेला परे । उता क्यानाडाका स्वास्थ्य अधिकारीहरुका अनुसार उनीहरु मंकीपक्स संक्रमणको १३ वटा केसक‍ो जाँच गरिरहेका छन् ।

के-हो मंकीपक्स भाइरस ?
मंकीपक्स एउटा दुर्लभ र आमरुपमा हल्का संक्रमण गराउने खालको भाइरस हो । यो सुरुसुरुमा अफ्रिकाको केही भागका जंगली जनावरमा पाइएको थियो । १९५८ मा पहिलोपटक एउटा बाँदरमा यो भाइरस देखिएको बताइन्छ । यो भाइरस पहिलोपटक १९७० मा मानिसमा समेत सरेको पुष्टि भयो । यूकेबाट सञ्चालित एनएचएस वेबसाइटका अनुसार, यो रोग दादुरा-बिफर (चेचक) वंशकै एउटा रोग हो र यसमा शरीरमा विशेष किसिमका फोका देखापर्छन् ।

कस्तो हुन्छ मंकीपक्स भाइरसको संक्रमण
मंकीपक्स भाइरस कुनै संक्रमित जनावरले टोकेपछि वा संक्रमित जनावरको रगत वा शरीरको तरल पदार्थको सम्पर्कमा आएपछि सर्न सक्छ । भनिन्छ यो रोग खासगरी मुसा, खरायो, न्याउरीमुसा आदि जनावरले टोकेका कारण सर्छ । मंकीपक्सबाट संक्रमित जनावरको राम्रोसँग नपाकेको मासु खाँदा पनि यो रोगबाट संक्रमित हुन सकिन्छ । यो भाइरस मानिसमा निकै तीव्र गतिमा फैलन्छ । यो छुवाछुतबाट सर्ने रोग हो । संक्रमित व्यक्तिको कपडा वा खाट प्रयोग गर्दा पनि मंकीपक्स सर्न सक्छ । हाछिउँ गर्दा वा खोक्दा पनि य‍ो भाइरस फैलने सम्भावना हुन्छ ।

मंकीपक्सको लक्षण ?
मंकीपक्सबाट संक्रमित भएपछि मानव शरीरमा यसको लक्षण देखा पर्न ५ देखि २१ दिन लाग्न सक्छ । यसको प्रमुख लक्षण ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशीको पीडा, ढाडक‍ो पीडा, शरीर काम्ने तथा थकान आदि हो । यी लक्षण अनुभव गरेको एकदेखि पाँच दिनपछि अनुहार तथा शरीरमा पानी फोकाहरु देखापर्न थाल्छन् ।

मंकीपक्सको जोखिम तथा उपचार ?
विश्व स्वास्थ्य संगठनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच कम भएको मध्य अफ्रिकाजस्तो क्षेत्रमा यो रोगले १० जना संक्रमित व्यक्तिमध्ये एकजनाको ज्यान लिन सक्छ । यद्यपि धेरैजसो बिरामी केही सातामै ठीक हुन्छन् । अहिलेसम्म मंकीपक्सका लागि कुनै छुट्टै वा विशेष उपचार उपलब्ध छैन । यो रोग लागेपछि बिरामीका लागि विशेष रेखदेखको आवश्यकता हुन्छ । त्यसका लागि विशेषज्ञ अस्पताल चाहिन्छ ताकि य‍ो संक्रमण नफैलियोस् र बिरामीको विशेष उपचार गर्न सकियोस् ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया