बिहीबार, चैत १५, २०८०

‘बोधिज्ञान प्राप्त गर्न सक्यौ भने बुद्ध हुन सक्नेछौ’

बुद्ध-वाणी २०७९ जेठ ८ गते ७:५७

मानिसको मनले उसलाई बुद्ध बनाउन सक्दछ र यसै मनले उसलाई पशु बनाउन सक्दछ । भ्रमले बाटो बिरायौ भने राक्षस बन्न सक्नेछौ । बोधिज्ञान प्राप्त गर्न सक्यौ भने बुद्ध हुन सक्नेछौ । तसर्थ, आफ्नो मनमाथि नियन्त्रण राख अनि कहिल्यै पनि सत्मार्गबाट यसलाई विमुख हुन नदेऊ ।

-तिमीहरूले परस्परमा सम्मान गर्नु, मैले दिएको सत्मार्गमा लागि विवादबाट मुक्त हुनु, पानी र तेलजस्तै एक-अर्कामा बेमेल नभई पानी र दूधजस्तै गरी मिसिएर बस्नु पर्दछ ।

-सँगसँगै अध्ययन गर, सँगसँगै सिकी सँगसँगै मैले दिएको उपदेशको अभ्यास गर । व्यर्थका कुरा अथवा कलहमा आफ्नो मन र समय खेर जान नदेऊ । ज्ञानको फूल फुल्ने ऋतुमा त्यसको आनन्द लेऊ र सत्मार्गको फल टिप ।

-जुन उपदेश मैले तिमीहरूलाई दिएको छु, त्यो मैले स्वयं त्यही मार्ग अनुसरण गरेर प्राप्त गरेको हुँ । तिमीहरूले यी उपदेशहरू पालना गरी प्रत्येक अवसरमा तिनको भावनाअनुकूल आचरण गर । यदि तिमीहरूले तिनको उपेक्षा गर्‍यौ भने यसको अर्थ तिमीहरूले मलाई कहिल्यै नभेटे सरह हुनेछ । यसको अर्थ वास्तवमा तिमीहरू मसँग भए पनि मभन्दा धेरै टाढा भए सरह हुनेछ । तर यदि तिमीहरूले मेरो उपदेश स्वीकार गरी अभ्यास गर्‍यौ भने तिमीहरु मभन्दा टाढा हुँदा पनि मेरो नजिकै हुनेछौ ।

-मेरो शिष्यहरू, मेरो अन्त्य नजिकै आइसकेको छ । हामी छुट्टिने बेला नजिक आएको छ । तर विलाप नगर । जीवन सदैव परिवर्तनशील छ । कोही पनि शरीरको विनाश हुनबाट उम्कन सक्दैन । अब म मेरै मृत्युबाट यो कुरा प्रकट गर्नेछु । एक सडेको गाडाझैं मेरो शरीर टुक्राटुक्रा हुनेछ ।

-व्यर्थमा विलाप नगर, तर कुनै कुरा पनि स्थायी छैन भन्ने यथार्थता बुझी यसबाट मानव जीवनको शून्यताको बारेमा सिक्ने प्रयत्न गर । परिवर्तनीय कुरा अपरिवर्तनीय हुन सक्ने दुष्कामना नगर ।

-सांसारिक तृष्णाको राक्षसले मनलाई भ्रममा पार्न सदैव अवसर खोजी राख्दछ । यदि एक विषालु सर्प तिम्रो कोठामा छ अनि तिमी शान्तिपूर्वक सुत्न चाहन्छौ भने सर्वप्रथम तिमीले त्यसलाई कोठाबाहिर धपाउनुपर्छ ।
तिमीहरूले विषालु सर्पलाई धपाएझैं सांसारिक रागको बन्धन तोडी तिनलाई धपाउनुपर्छ । तिमीहरूले दृढतापूर्वक आफ्नै मनको रक्षा गर्नुपर्दछ ।

-मेरा शिष्यहरू, मेरो अन्तिम घडी आइपुगेको छ तर मृत्यु भनेको स्थूल शरीरको विनाश हुनु मात्र हो भन्ने कुरा तिमीहरूले बिर्सन हुन्न । शरीरको जन्म आमाबाबुबाट भएको हुन्छ । त्यसको पोषण अन्नले गरेको हुन्छ । त्यसरी नै रोग र मृत्यु अवश्यंभावी हुन् ।

-तर साँचो बुद्ध मानव शरीर होइन । यो त बोधिज्ञान हो । मनुष्य शरीर अवश्य विनष्ट हुनेछ । तर धर्मको सत्यमा र धर्मको पालनामा बोधिज्ञानको प्रज्ञा सदैव प्रवाहित भइरहनेछ । जसले मेरो शरीर मात्र देख्दछ, उसले यथार्थमा मलाई देख्दैन । उसले मात्र देख्दछ जसले मेरो उपदेश स्वीकार गर्दछ ।

-मेरो मृत्युपछि, धर्म नै तिमीहरूको गुरु हुनेछ । धर्मको पालना गर र तिमीहरू म प्रति निष्ठावान् हुनेछौ ।
मेरो जीवनको गत पैतालीस वर्षमा, मैले आफ्ना उपदेशहरूमा केही कुरा लुकाएको छैन । कुनै गोप्य उपदेश छैन, कुनै लुकेको अर्थ छैन । सबै कुराको खुला एवं स्पष्ट रूपले उपदेश दिएको छु । मेरा प्रिय
शिष्यहरू, यो अन्त्य हो । अब एकै छिनमा निर्वाण लिनेछु । यो मेरो उपदेश हो ।

प्रतिक्रिया