जेठ १२ देखि १४ सम्म ‘प्लास्ट नेपाल २०२२’

काठमाडौं । प्लास्ट नेपाल फाउन्डेसनले आगामी जेठको १२ देखि १४ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा प्लास्ट नेपाल २०२२ नामको प्लास्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको संस्थाले जानकारी दिएको छ । अब हुन लागेको तेस्रो संस्करणको यो प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरू र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५,००० वटा प्लास्टिक उद्यमी व्यवसायी र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादनहरू, यसका कच्चा पदार्थहरू र मेसिन उपकरणहरू समेतका विभिन्न १२६ वटा स्टल राखिनेछन् ।
प्लास्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लास्ट नेपाल, नेपाली प्लास्टिक उद्यमीहरूको छाता संगठन हो, र हामीले नेपालमा प्लास्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लास्टिकको रिसाईकल र फोहोर व्यवस्थापनमा सबैतिर संस्थाले सरकार र उद्योगीहरू सँग मिलेर काम गरिरहेको छ ।
नेपालमा प्लास्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरूलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिकजन्य वस्तुहरू उपलव्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।








प्रतिक्रिया