बिहीबार, वैशाख १३, २०८१

के मंकिपक्स नयाँ ‘महामारी’ घोषित हुँदै छ ?

नेपालखोज २०७९ जेठ ९ गते १९:४१

काठमाडौं । अहिले संसारका विभिन्न मुलुकमा मंकीपक्सका बिरामी तीव्र गतिमा बढिरहेका छन् । यसले खासगरी युरोपमा खतराको घण्टी बजाइरहेको छ जहाँ रेकर्ड संख्यामा मंकिपक्सका बिरामी देखापरिरहेका छन् । भनिन्छ अहिलेसम्म त्यहाँ मंकिपक्सका सयभन्दा बढी बिरामी फेला परिसकेका छन् ।

मंकिपक्सको बढ्दो प्रकोपलाइ गम्भीरतापूर्वक लिँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा आपत्‌कालीन (इमरजेन्सी) बैठकसमेत गरेको बताइन्छ । उक्त बैठकमा यो रोगसँग जोडिएका विभिन्न मुद्दामा विस्तारपूर्वक चर्चा भएको थियो । बैठकमा मंकिपक्सलाई महामारी घोषित गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

अहिले युरोपका ९ वटा देशमा मंकिपक्सको प्रवेश भइसकेको छ जसमा बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, पोर्चुगल, स्पेन, स्विडेन तथा ब्रिटेन छन् । त्यसका अतिरिक्त अमेरिका, अस्ट्रेलिया तथा क्यानाडामा समेत यो रोगले त्यहाँका सरकारहरुको चिन्ता बढाएको छ । यद्यपि विज्ञहरुले यो रोगलाई महामारीको रूप लिन नसक्ने दाबी गरिरहेका छन् किनभने यो कोरोनाजस्तो तीव्र गतिमा फैलिँदैन भने मानिसहरु यसबाट सजिलै संक्रमित पनि हुँदैनन् ।

Robert Koch Institute का प्रोफेसर फेबियनका अनुसार यो रोगको प्रकोप लामो समयसम्म रहने देखिँदैन किनभने य‍ो रोग लागेका रोगीलाई सजिलै आइसोलेट गर्न सकिन्छ । यसलाई समयमै एक ठाउँमा रोकेर राख्न सकिन्छ । भ्याक्सिनबाट पनि मंकिपक्सको असर निकै कम गर्न सकिन्छ ।

यता विश्व स्वास्थ संगठन ( डब्ल्यूएचओ ) का युरोप प्रमुख भने मंकिपक्सलाई लिएर बढी गम्भीर र चिन्तित देखिन्छन् । उनका अनुसार युरोपमा मानिसहरुले पार्टीहरुमा बढी सहभागिता जनाए वा गर्मीको छुट्टी मनाउन बढी बाहिर गए यो रोग बढी भन्दा बढी फैलने सम्भावना छ ।

युरोपमा मंकिपक्सको पहिलो केस ७ मेमा देखापरेको थियो । युरोपका ती पहिला संक्रमित नाइजेरिया भ्रमणबाट फर्किएका थिए । मंकिपक्स अहिलेसम्म अफ्रिकी मुलुकमै बढी देखापरिरहेको थियो । अफ्रिकामा २०१७ देखि नै यो रोग समस्याका रुपमा अगाडि आएको छ । अहिले युरोपमा समेत यसको प्रभाव बढ्न थालेपछि यसले विश्वव्यापी रुप लिने हो कि भन्ने चिन्ता बढाएको छ ।

अहिलेसम्मको अनुसन्धानअनुसार स्मलफक्सविरुद्ध प्रयोग गरिने भ्याक्सिन नै मंकिपक्समा पनि असरदार साबित भएको छ । यो भ्याक्सिनलाई ८५ प्रतिशत असरदार मानिएको छ भने अस्पतालमा भर्ना भइसकेका यसका बिरामीहरुमध्ये कोही पनि सिकिस्त अवस्थामा नपुगेको बताइएको छ ।

मंकिपक्सका प्रमुख लक्षण संक्रमित भएको पाँच दिन जतिमा ज्वरो आउने, टाउको, पिठ्यू एवं मांशपेशी दुख्ने तथा थकान आदि हुन् । मंकिपक्स सुरुमा चिकनपक्स, दादुरा वा बिफरजस्तै देखिन्छ । ज्वरो आएको एकदेखि तीन दिनपछि यसले छालामा असर देखाउन थाल्छ । यसमा शरीरमा पानीफोकाहरु निस्कन्छन् । यस्ता फोका स-साना हुन्छन् भने यी फोका हातखुट्टा, हत्केला, अनुहार सबैतिर आउन सक्छन् । यी पानीफोकाहरु घाउजस्तै देखिन्छन् भने केही समयपछि सुकेर आफैं पाप्रा बन्छन् ।

प्रतिक्रिया