बीवाईडीको ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य नियुक्त
काठमाडौं । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले आफ्नो ब्रान्डलाई प्रतिनिधित्व गर्न प्रख्यात कलाकार हरिवंश आचार्यसँग हातेमालो गरेको छ । नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न दुवै पक्षबीच जेठ ७ गते बीवाईडी डिलर मिट २०७९ को अवसर पारी सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
उक्त अवसरमा हरिवंश आचार्य भन्छन्, ‘हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गरेको छ । विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावीकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका छन् । सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु ।’
जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र राष्ट्रका आम जनतामा यस बारे थप चेतना जगाउनका लागि आचार्यले प्रमुख भूमिका निर्वाह गर्नेछन् । आफ्नो बहुमुखी अभिनयका लागि परिचित आचार्यले आफ्ना सम्पूर्ण काममार्फत दर्शकलाई अर्थपूर्ण सन्देश र नवीन विचारहरू प्रस्तुत गर्न सफल भएका छन् । धेरै सामाजिक परियोजनामा काम गरी परिवर्तन निर्माताका रुपमा समेत आचार्य परिचित छन् । उनले आजसम्म गरेको काम र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविष्कारहरू सिर्जना गर्ने बीवाईडीको भिजन मिल्दोजुल्दो रहेको छ ।
ब्रान्ड एम्बेसेडरद्वारा गरिने प्रचार–प्रसारले देशभर अवस्थित नेपालीहरुमा विद्युतीय गतिशीलता र यसका फाइदाहरूका बारेमा चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकहरूको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पुर्याउनेछ ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको यस वर्तमान परिदृश्यमा इन्धनको संकट, जलवायु र वातावरणीय समस्याहरूको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनहरुको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्नु हो । कम्पनीको ब्रान्ड एम्बेसडर आचार्यको साथसँगै निकट भविष्यमा नेपाललाई विद्युतीय बनाउन विद्युत क्रान्ति गर्ने लक्ष्य बीवाईडीले राखेको छ ।
प्रतिक्रिया