बिहीबार, चैत १५, २०८०

अस्ट्रेलियामा प्रधानमन्त्रीको शपथ यस्तो

भरतराज पौडेल २०७९ जेठ ९ गते २१:२९

लेबर नेता एन्थोनीले अल्बानिजीले देशभर २० प्रतिशत मतगणना बाँकी छँदै अस्ट्रेलियाका ३१औं प्रधानमन्त्रीको शपथ लिनेबित्तिकै आजै नयाँ विदेशमन्त्री पेनी ओङलाई लिएर जापानतिर लागेका छन् । महारानी एलिजाबेथका प्रतिनिधि अस्ट्रेलियाका गभर्नर जनरल डेभिल हर्ली (जो पूर्वप्रधानसेनापति पनि हुन्) ले गभर्नरकै बैठक कक्षमा शपथ खुवाए । कुनै ठूलो हल भवन र समारोहमा यो शपथ भएको थिएन । अन्य संवैधानिक निकायका प्रमुख वा विपक्षी वा अन्य दलका नेता शपथ ग्रहणमा सहभागी थिएनन् । मात्र प्रधानमन्त्री र चार मन्त्रीका केही परिवारिक सदस्य मात्रै सामेल थिए ।

केही रोचक कुरा :
१. एन्थोनी वा जो सुकै प्रधानमन्त्री होस यति ठूलो औपचारिक समारोहमा जाँदा पनि सुरक्षा कारगेड वा गाडीहरूको लावालस्कर थिएन । सधैंजसो नेताहरू आफैं गाडी चलाएर हिँड्ने भए पनि प्रधानमन्त्रीका रूपमा आज एन्थोनीको सरकारी गाडी ड्राइभरले चलाएका थिए । उनलाई नौलो अनुभव भइरहेको थियो होला । मन्त्रीहरूमध्ये आधाआधी त आफैं गाडी चलाउँछन् । सांसदहरू सबैजसोले आफैं गाडी चलाउँछन् र संसद् आउजाउ गर्छन् । ऊ बेला प्रधानमन्त्री छँदै टोनी एबट पनि कहिले-काहीँ आफैं ढोका खोलेर पछाडिपट्टि गएर डिक्कीबाट आफैं हाते ब्याग झिकेर संसद भवनतिर लम्किन्थे ।

२. शपथ खानेबेला गभर्नरको अघिको टेबलमा बसेर नियुक्ति पत्रमा सही गरेपछी जुरूक्क उठेर एन्थोनीले शपथ पढे र गभर्नर सँग हात मिलाउँदै एउटा फोटो खिचे, सबै समान खालको देखिने कुर्ची मध्ये उनलाई तोकिएको कुर्चीमा बसे । फेरी उठेर सानो पोडियममा उभिएर प्रधानमन्त्री आँफैले धमाधम शपथ खाने मन्त्री र मन्त्रालयको नाम पढ्ने चलन कायमै छ । गभर्नरले पालैपालो बसाएर सही गराउने र उठेर एउटा फोटो खिचिदिने । शपथ सकेपछी गभर्नर सँग सामुहिक तस्विर खिचेपछी शपथको काम तमाम । अमेरिका भारत रसिया नेपाल उत्तर कोरिया टर्की ईन्डोनेशिया फिलिपिन्स लगायतका थुप्रै देशमा भने ठुलै तामझाम गरेर सयौँ भिआईपिको भिडमा शपथ सम्पन्न हुन्थ्यो । सबैतिर गाडी र सुरक्षाकर्मीहरूको लावालस्कर हुन्थ्यो । कति खर्च हुन्थ्यो होला? बेलायत पनि रानी एलिजाबेथको देश भएकाले औपचारिकता अलिकती त होला नै ।

३. आफूसहित छाया मन्त्रिमण्डलमा जो-जो थिए उनीहरूलाई सम्बन्धित जिम्मेवारी दिनुपर्ने भएकाले एन्थोनीले आफूसहित पाँचजना मन्त्री बनाए र गभर्नरकै सामु शपथ गराए ।

४. आज बनेको पाँच सदस्यीय मन्त्रिमण्डलमा लेबर कि सिनेट नेता, मलेसियाली बाबु र अस्ट्रेलियाली आमाबाट जन्मेकी पेनी ओङ बिदेशमन्त्री भईन । उनी एलजिबिटिआई मन्त्री पनि हुन ।

५. पार्टीको छाँया सरकारमा उपनेता रहेका रिचार्ड माईल्स लाई नै उपप्रधानमन्त्री बनाए, शपथ सकिए लगत्तै प्रधानमन्त्री एन्थोनी टोक्योमा आजैबाट हुने भारत अमेरिका जापान र अस्ट्रेलिया सम्मिलित QUAD बैठकमा भाग लिन गए बिदेशमन्त्री पेनी ओङलाई लिएर, माईल्स आजै कार्यबाहक प्रधानमन्त्री भए ।

६. आजै ब्रिसबेनका ४४ वर्षीय, विश्वकै उत्कृष्टमध्येको एक अस्ट्रेलियाकै पहिलो नम्बरको बिश्व बिध्यालय एएनयुबाट राजनिती शास्त्रमा पिएचडी गरेका युवा जिम चार्मरलाई सबैभन्दा शक्तिशाली मन्त्रालय ट्रेजरर बनाए । र केटी कालागरलाई अर्थमन्त्री बनाए । राष्ट्रको ढुकुटीबाट बजेट बिनियोजन र अन्य चाँजोपाँजो ट्रेजररले नै गर्नु पर्छ । अर्थमन्त्रीले बजेट हेर्दैन आर्थिक प्रशासन हेर्छन् ।

७. अस्ट्रेलियाको प्रधानमन्त्रीमा शपथ लिएपछी तुरून्तै प्रधानमन्त्रीले छोटो पत्रकार सम्मेलनमा भाग लिएका थिए । यो सामान्य चलन हो ।

८. अस्ति साँझ निर्वाचन परिणाम आउँदै गर्दा बाहिरिँदै गरेका प्रधानमन्त्री स्कट मरिसनले फोनबाट हार स्वीकार गरेर बधाई दिएर सत्ताबाट बाहिरिए पछी आफ्नो लेबर पार्टी हेडक्वार्टरको समारोहमा एन्थोनी अल्बानिजीले आफ्नी नयाँ पार्टनर जोडी हेईडन र तीन बर्ष अघि छोडपत्र गरेर हिँडेकी उ बेला कि न्युसाउथवेल्सकी उपप्रिमियर कार्मेल टेबटबाट जन्मिएको छोरो नाथानलाई स्टेजमा लगेका थिए । छोरो र पार्टनरको हात समातेर माथि उठाएर बिजयको अभिबादन गरे समर्थकहरूलाई । त्यो समारोहमा उनले एउटा बाक्य बोलेका थिए, आज धेरैलाई सम्झन्छु, मेरो जिबनमा अरू मानिस पनि थिए र मलाई सहयोग पनि भयो र यो हलमा मेरो छोराकी आमा पनि छन । उनले आफ्नी अस्ति भर्खर सम्म कि पत्नी कार्मेललाई घुमाउरो अभिबादन गरे । कुनै जमाना थियो केन्द्र र राज्यमा यि दुबैले चुनाव जित्थे र यो जोडीलाई सिड्नीको ग्राण्डलेयर वा म्यारिकभिल निर्बाचन क्षेत्रका किङ एण्ड क्वीन भन्थे कति मानिसहरू । अहिले उनीहरू छुट्टै बस्छन ।

९. आफैंलाई छोडपत्र दिएर हिँडेकी लेबर पार्टीकै नेता पूर्वश्रीमती टेबटले यो चुनावमा अल्बानिजीलाई सहयोग गरेकी थिइन् । आफ्नो छोराको बाउ पूर्वपति अल्बानिजी चुनाव प्रचारप्रसारमा विभिन्न राज्यमा जाँदा टेबटले नै अल्बानिजीको कुकुर ‘टोटो’ को रेखदेख गर्ने गरेकी रहिछन् ।

१०. अल्बानिजीलाई केही बर्ष अघि सम्म आफ्नो पिता को हून वा थिए भन्ने थाहा थिएन । युरोपबाट अस्ट्रेलिया आउँदा पानीजहाजका कर्मचारी एन्थोनीका पिता सँग आमाको भेट भएका बेला उनी गर्भबती भएर अस्ट्रेलिया आईन उनले ति युवाको केही डिटेल राखेकी थिइन । त्यससपछी अल्बानिजीको बाबुआमाको कहिल्यै भेट भएन । बिहेको त कुरै छोडौँ । यिनले आफ्नो बाबु एक इटालियन भएको पछी पत्तालगाएर केही महिनाको अनुसन्धान र खोज पछी जासुसी शैलीमा ७/८ बर्ष अघि ईटली गएर बाबुको अर्को परिबार र नातागोता मार्फत पत्ता लगाएका थिए । त्यसैले अल्बानिजी एकल आमाले सोसल हाउजिङमा हुर्काएका छोरा हुन भनिन्छ । उनी भाबुक छन कुनै पनि बेला आँशु झारिदिन्छन । यिनका बाबुआमा दुबैको अहिले निधन भैसकेको छ ।

११. अस्ट्रेलियामा अहिले केन्द्रमा भष्ट्राचार हेर्ने नेपालमा जस्तो अख्तियार दुरुपयोग निबारण आयोग छैन । राज्यहरूमा आआफ्नै तजबिजमा आईक्याक लगायतका निकाय छन । केन्द्रमा हुने भष्ट्राचार सँघिय प्रहरी र अन्य अनुसन्धानमा सघाउने निकाय र अदालतमा रेफर हुन्छ तर एउटै ठुलो आयोग छैन अस्ट्रेलियामा भष्ट्राचार हेर्ने । अब अल्बानिजीले बल्ल भष्ट्राचार नियन्त्रण गर्ने निकाय गठन गर्ने बताएका छन । लिबरलले यसलाई खासै प्राथमिकतामा राख्न पर्ने ठानेन ।

१२. यो चुनावमा नेता स्कट मरिसनकै कारण मात्रै लिबरल नेशनलले हारेको नभई दश बर्षमा जनताले देशको काँध फेरेका हुन । लिबरल नेसनलभित्र जब्बर भएर बसेको महिला राजनितीकर्मी र महिला कर्मचारीहरू माथि भएको भेदभाव र केही मन्त्रीका छरपस्ट भएका अनएथिकल सम्बन्धका कारणलगायत स्वतन्त्र र ग्रिन्सहरूको अनपेक्षित जितले संकेत गरेको हावापानी परिवर्तनको मामिलामालाई सहर्ष र प्रभावकारी रूपले सम्बोधन नगर्न खोजेको झैँ गरेर कन्जरभेटिभ सरकार चलाइएकाले पनि हो ।

प्रतिक्रिया