चितवनमा चुनावी तालमेल, महानगरमा दोहोरिने रेणुको सपना साकार हुँदै

काठमाडौं । चितवनमा सत्तागठबन्धन दलले आगामी चुनावमा तालमेल गर्ने भएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठबन्धन जिल्ला स्तरीय संयन्त्रको आज बसेको बैठकले जिल्लाका ७ वटा स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धन संयन्त्रले जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । चितवन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हो । यहाँको भरतपुर महानगरपालिकामा आफ्नो दाबी गर्दै प्रचण्डले छोरी रेणु दाहाललाई पुन: मेयरमा उठाउन केन्द्रबाटै तालमेलको तयारी गरिरहेका छन् ।
आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै बसेको बैठकले ४ बुँदे निर्णय गरेको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ ।
तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने निर्णयमा उल्लेख छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने सहमति भएको छ । यस्तै गठबन्धन सहभागी दलहरूका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जिल्लाको दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि भएको छ । बैठकमा सत्तारुढ दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता रहेको थियो । चितवनमा भरतपुर महानगरपालिकासहित ७ स्थानीय तह रहेका छन् ।
निर्णयअनुसार जिल्लाका सबै पालिकामा गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि नेपाली कांग्रेसको सम्बन्धित पालिका सभापतिको नेतृत्वमा संयन्त्र बनाउने निर्णय गरेको छ । त्यस्तै गठबन्धनमा सहभागी दलहरूबीच गठबन्धनको मर्म र भावना अनुरुप एक-आपसमा सम्मान र हार्दिकताको विकास गर्ने सहमति बनेको छ ।
चितवनको गठबन्धन संयन्त्रमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपाका प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरी छन् ।


प्रतिक्रिया