युद्ध निषेध : शान्ति विशेष अभियान !

नेपालखोज २०७९ जेठ १० गते ८:५३

मानव अधिकार तथा शान्ति समाज युद्ध विरोधी संस्था हो । यसले युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ भन्ने मान्यताका साथ युद्ध निषेधः शान्ति विशेष अभियान संचालन गर्दै आएको छ । युद्धले एउटा व्यक्तिको मात्र होइन, लाखौं, करोडौंको मानव अधिकार हनन गर्दछ भन्ने धारणा अनुरुप शान्ति समाजले स्थापनाकालदेखी नै युद्धको विरोध गर्दै आएको छ । युद्धले मानवहरुको आधारभूत स्वतन्त्रतालाई र जीवनको अधिकारलाई समाप्त गर्दछ । व्यक्ति–व्यक्तिको आधारभूत स्वतन्त्रता र मानव अधिकारको संरक्षणको लागि वकालत गर्ने र क्रियाशिल रहनेहरु, युद्धका कारण मानव सभ्यतामाथि नै संकट आइलाग्ने विषयमा भने प्राविधिक कुरा गरेर मौन बस्न मिल्दैन भन्ने धारणा शान्ति समाजको छ । युद्ध हुनबाट रोक्न, युद्ध हुनसक्ने कारणहरु पहिचान गरी समयमै सम्बोधन गरेर मानव सभ्यतालाई युद्धको विभिषिकाबाट जोगाउन विशेष पहल सर्वत्र प्राथमिकता हुनुपर्छ भन्ने शान्ति समाज ठान्दछ । यसका लागि आपसी समझदारी र भाइचारा वृद्धि गर्दै मानव सभ्यतालाई अघि बढाउन, राष्ट्रहरु, अन्तरसरकारी संस्थाहरु, नागरिक समाज, र जनस्तरबाट समेत सदैव पहल भइरहनुपर्ने शान्ति समाजको धारणा छ । विश्व इतिहासमा आजसम्म साना–ठूला गरी १४ हजारभन्दा ज्यादा युद्ध भए होलान् । युद्धमा कसैले पनि जित्दैनन, पराजित केवल मानवता हुने गर्दछ भन्ने शान्ति समाजको धारणा रहेको छ । युद्ध होइन शान्ति खोजौं, सद्भाव र शालिनताको जीवन रोजौं भन्ने आग्रहसहित शान्ति समाजले युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो चरणमा रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजले विशेष अभियान प्रारम्भ गरेको छ । यसै सन्दर्भमा २०७८ फागुन २७-२८ गते कपिलवस्तुको वाणगंगामा सम्पन्न मानव अधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद्ले पारित गरेको प्रस्ताव यस प्रकार छ–

रुसलाई तत्काल युद्ध रोक्न आग्रह
मानव अधिकार तथा शान्ति समाजले “युद्ध निषेध : शान्ति विशेष” भन्ने आह्वानसहित युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्ति प्रवर्धन गर्न जोड दिँदै लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो चरणमा रुस र युक्रेनबिच तनाव बढ्दै युद्धको बादल मडारिन थालेपछि मानव अधिकार तथा शान्ति समाजले युद्ध टार्ने कुटनीति र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै नेपालमा विशेष अभियान प्रारम्भ गरेको थियो । यसै सन्दर्भमा रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले बुटवल, काठमाडौं, दाङ, चितवन र पाल्पामा प्रदर्शन गरेको थियो ।

रुस–युक्रेनबिच युद्धको आशंका बढ्दै जाँदा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि सम्भावनालाई टार्न-खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित राष्ट्रसंघिय कार्यालय पुल्चोक अगाडि समेत प्रदर्शन गरेको थियो । प्रदर्शनपश्चात रुस–युक्रेनबिच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि संभावनालाई टार्न/खारेज गर्नका लागि संयुक्त राष्ट्रसंघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

यसैगरि शक्तिशाली राष्ट्र रुसले युक्रेनको सार्वभौमसत्तामाथि धावा बोल्दै सेना परिचालन गर्ने आपत्तिजनक निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्धन गर्न विशेष आग्रहसहित नेपालस्थित रुसी राजदूतावास वालुवाटार अगाडि पनि प्रदर्शन भएको थियो । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

युद्धले लाखौं करोडौं मानिसको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौं हजार सदस्य तथा शुभचिन्तक अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवर्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ भनिएको थियो ।

समाजले रुसले युक्रेनमाथि गरेको भिषण आक्रमणको निन्दा गर्दै रुसलाई तत्काल युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । मानव अधिकार तथा शान्ति समाजले रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गर्न, युद्ध रोक्न र युक्रेनको सार्वभौमसत्तालाई सम्मान गर्न विशेष आग्रह गरेक‍ो छ ।

मानव अधिकार तथा शान्ति समाजको आणविक अस्त्र उन्मूलनका लागि विशेष अभियाननिरन्तर छ भने आणविक अस्त्रको विश्वव्यापी उन्मूलनका लागि स्थापनाकालदेखि नै शान्ति समाजले विशेष अभियान सञ्चालनमा छ । आणविक उन्मादः मानवताको सबैभन्दा ठूलो शत्रु हो । आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन् भन्ने सन्देशसहित आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरुको निर्माण र परीषणमा पूर्ण प्रतिवन्धको मागसहित शान्ति समाजले पछिल्ला वर्षमा यो अभियानलाई झनै तिव्र बनाएको छ । सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण गरिएको थियो भने २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र अन्तत ५० राष्ट्रको अनुमोदनपछि २०२१ को जनवरी २२ बाट यो सन्धि लागू भएको छ ।

यो सन्धिले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन-निर्माण, भण्डारण आदीलाई निषेध गर्नुका साथै आणविक अस्त्रको प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ । आणविक अस्त्रको पूर्ण उन्मूलनतर्फ उन्मूख भएको हुदा विश्व शान्तिका लागि यो सन्धि कोशेढुंगो मानिएको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५९ राष्ट्रले अनुमोदन गरिसकेको यो महासन्धिमा नेपालले हस्ताक्षर गरेपनि हालसम्म अनुमोदन गरेको छैन । तसर्थ शिघ्र अनुमोदन गर्न नेपाल सरकारलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी आणविक क्लबका ९ सदस्य राष्ट्रहरु (आणविक हतियारधारी) यो सन्धिलाई अनुमोदन गर्न इच्छुक देखिँदैनन् ।

प्रतिक्रिया