‘घाेषणापत्रमा लेखिएका काम सकेपछि विजयोत्सव मनाउँला’
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौंको मुहार फेर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । आफ्नो जित सुनिश्चित हुन लागेका बेला उनले अबको बाटो सहज नभएको जनाए । आफ्नो वास्तविक अभियानको परीक्षा सुरु हुने जनाउँदै उनले काठमाडौंको विकास गर्न साथ र सुझावको जति महत्व छ, उति नै खबरदारीको खाँचो भएको पनि जनाए ।
सामाजिक सन्जाल फेसबुक पेजमा बुधबार बालेनले काम गर्ने सिलसिलामा बाटो बिराए, खबरदारी गर्न जनतासँग आग्रह गरेका छन् । उनले घोषणापत्रमा भएका कुरा लागू गर्न सके मात्र विजय उत्सव मनाइने बताएका छन् । जित र हारको कुरा मतगणना सकिएसँगै छाड्नुपर्ने बताउँदै बालेन फेसबुक पेजमा लेख्छन्, जित–हारलाई मतगणना सकिएसँगै सकिदिऔँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजयोत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ । ’
काठमाडौं महानगरको जिम्मेवारी सम्हाल्न मतदाताको विश्वासले आफू योग्य भएको पुष्टि भएको उनले दाबी गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा आफूलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया