बिहीबार, वैशाख ६, २०८१

महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने

नेपालखोज २०७९ जेठ १२ गते १५:२०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । ज्येष्ठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउनेछन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गरे । क्रिकेट लिगका प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले लिगका नियमहरूबारे प्रकाश पारेका थिए । उक्त सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरूबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।

लिग कम नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिङ्सको हुनेछ । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्र्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर÷ब्याट्सम्यान, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युटृयुब च्यानल र विकेट नेपाल मार्फत हुनेछ ।

२८औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दौरानमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया