बिहीबार, वैशाख १३, २०८१

‘सडक बालबालिकाको जन्म दर्ता तथा नागरिकताकाे समस्या न्यूनीकरण गर्न आवश्यक’

नेपालखोज २०७९ जेठ १२ गते १८:४३

काठमाडौं । गैरआवसीय गैरसरकारी संस्था साथसाथले सडक बालबालिकाको जन्म दर्ता तथा नागरिकताका विषयमा विभिन्न सरोकारवाला नियकायसँग छलफल गरेको छ ।

छलफलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालसंरक्षण तथा विकास शाखाका प्रमुख शान्ती राज प्रसाईं, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सागर मणी पाठक, प्रतिनिधीसभा महिला तथा बालबालिका समितिका प्रतिनिधि, महानगरीय स्तरीयमहिला तथा बालबालिका शाखाका प्रमुखहरु, पञ्जाधिकारी, सरकारी तथा गैरसरकारी निकायका व्यक्तित्वहरु, शिक्षक, अभिभावक, सडकसँग आबद्ध बालबालिकाहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साथसाथकी रिसोर्स एजुकेटिभ कविता शाहले सडक बालबालिकाको हकमा जन्म दर्ता गराउने क्रममा हुने व्यवहारिक कठिनाई तथा जन्म दर्ता नहुँदा बालबालिकामा परेको असर र समस्याका बारेमा बताएकी थिइन् । साथासथाले हालसम्म १५६ जना सडक बालबालिकाको जन्म दर्ता बनाउन सफल भएको कुरा पनि उनले जानकारी गराइन् ।

यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सागर मणी पाठकले सबै स्थानीय पालिकाहरुमा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित परिपत्र यथा शिघ्र जारी गर्ने बताउँदै व्यक्तिगत घटना दर्ता गर्दा संलग्न गनुपर्ने कागजपत्रहरुका बारेमा पनि प्रस्ट्याएका थिए । बाल संरक्षण तथा विकास शाखाका प्रमुख शान्ति राज प्रसाईंले सडक बालबालिकाको पहिचान र पारिवारिक विखन्डनको समस्या जल्दो बल्दो रहेकाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

सडक बालबालिकाको जन्म दर्ता सम्बन्धी सवाल र आगामी कार्यदिशामा गृहकार्य गर्न अत्यन्त जरुरी रहेको बताउँदै पहिचान खुल्न बाँकी सडक बालबालिकाको अधिकारका लागि मन्त्रालयले पनि अभियानमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

छलफलका क्रममा कार्यक्रमका सहभागीहरुले जन्म दर्ता सम्बन्धी आफ्नो कार्यक्षेत्रका अनुभव सुनाई समस्याहरु पहिचान गरी आगमी दिनमा अघि बढ्ने जानकारी गराए ।

प्रतिक्रिया