शनिबार, वैशाख ८, २०८१

रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र

नेपालखोज २०७९ जेठ १३ गते ९:१५

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन् ।

टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए ।

यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन् ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले देशको पूर्वी भागमा अवस्था मानिसहरूले बुझे भन्दा निकै खराब रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै उनले रुसी सेनाविरुद्ध उभिनका लागि पश्चिमा राष्ट्रहरूसँग युक्रेनलाई खासगरी एकै पटक धेरै रकेट प्रहार गर्न सकिने प्रणाली लगायतका शक्तिशाली हतियार उपलब्ध गराउन पुनः आग्रह गर्दै भने, ‘हामीलाई शक्तिशाली अस्त्रको आवश्यकता छ । त्यो नभएको अवस्थामा हामी रसी सेनालाई पछि धकेल्न सक्ने अवस्थामा छैनौँ ।’

मस्कोले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । कुलेबाले खाद्यान्नको आपूर्ति हुने एउटा मुख्य युक्रेनी बन्दरगाहमा रूसले अवरोध सिर्जना गरेकै कारण विश्वमा खाद्य संकटको खतरा बढेको बताएका छन् । बीबीसी

प्रतिक्रिया