हिमपातले यार्सागुम्बा संकलन रोकियो

मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलक फर्किएका हुन् ।
हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । उनले भने, ‘मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा संकलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौं, ठेक्कामा काम गर्न यहाँ आएका हौं।’
नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा संकलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ-दशवटा यार्सागुम्बा संकलन गर्न सकिने उनले बताए । उनले भने, ‘एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा संकलनका लागि मनाङ आएका हौं । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि साढे चार लाख रुपैयाँ खर्च गरेको छ । पिसको ४ सय रुपंयाँ मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।’
डेढ महिनामा २०० यार्सागुम्बा संकलन गरेको उनले बताउछन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए । रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा संकलन गर्न सकस भएकाले बेँसी फर्र्किएको उनि बताछन् ।
आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा संकलन गर्ने गरेको तामाङले बताए । धादिङका १९ जनालाई यार्सागुम्बा संकलन गर्नका लागि ठेकेदारले ४२ लाख रुपैयाँ पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताए । हालसम्म ५२० यार्सागुम्बा संकलन गरेको उनले बताए ।
ठेकेदारले यार्सागुम्बा संकलकलाई प्रतिगोटा ४ सय रुपैयाँ दिने गरेको एसुले बताए । यार्सागुम्बा संकलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उनिहरु बताउछन् । तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउनुहुन्छ । रोहितले भने, ‘ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा ४ सय दिन्छ । खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौं ।’
केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा संकलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरु बताउँछन् ।
मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरुपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र मोबाइलमा भए पनि खोपकार्ड लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।
गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यस वर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा संकलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म संकलन गर्न दिने निर्णय भएको छ ।-रासस
प्रतिक्रिया