शुक्रबार, चैत १६, २०८०

१५ अंकले नेप्से घट्दा एक अर्ब २९ करोडको कारोबार

नेपालखोज २०७९ जेठ १३ गते १५:५९

काठमाडौं । नेप्से आज घटेको छ । अघिल्लो दिन आठ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने १५ दशमलव ८२ अंकले घटेर २२ सय २३ दशमलव ७८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव चार अंकले घटेर चार सय ३३ दशमलव सात अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २३ कम्पनीको २१ हजार नौ सय चारपटकको कारोबारमा ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब २९ करोड ८९ लाख पाँच हजार पाँच सय ९० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा होटेल तथा पर्यटन समूहको सूचक बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव आठ अंकले घटेर १५ सय ४८ दशमलव ८७ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ३७ दशमलव ५४ अंकले घटेर ३८ सय १३ दशमलव ३४ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक पनि २९ दशमलव ७३ अंकले घटेर २५ सय ५२ दशमलव ४६ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ६८ दशमलव ४६ अंकले घटेर नौ हजार चार सय ८२ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा समूहको सूचक ७८ दशमलव ७१ अंकले घटेर १० हजार सात सय ७९ दशमलव ५७ अंकमा पुग्दा ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज रुरु जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव १३ प्रतिशतले बढेर नौ सय रुपैयाँ अन्तिम मूल्यमा कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ८९ प्रतिशतले घटेर १३ हजार आठ सय ८८ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ ।

यसैगरी आज प्रभु बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ४५ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ६० लाख ७५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया