बुधबार, वैशाख १२, २०८१

क्याम्पस पढाउनेको तलबै झ्वाम पार्छन् सञ्चालक, निमेषले ८ वर्षअघिको पारिश्रमिक अझै पाएनन्

नेपालखोज २०७९ जेठ १३ गते १९:१५

काठमाडौं । पेसामा पत्रकारिता गर्ने र कलेजमा पत्रकारिता विषय पढाउने निमेष रेग्मीले भोगेको घटनाले फरक कथा बोकेको छ । अन्ततः पारिश्रमिक नपाएको पीडा उनले सामाजिक सन्जाल फेसबुकमा छताछुल्ल पारिदिएका छन् ।

सन् २०१४ को कुरा हो । सेफर्ड कलेज बानेश्वरमा हेल्थ एन्ड एन्भायोरमेन्ट जर्नालिजम भन्ने विषय पढाउने शिक्षकको अभाव रहेछ । कोही शिक्षक नभेटेको अवस्था थियो । वरिष्ठ पत्रकारसमेत रहेका एक पत्रकार मित्रले सेफर्डमा पढाउनका लागि निमेषलाई अफर गरे ।

निमेषले ठीकठीकैको तलब पाउने भए पनि पढाउने निधो गरे । पहिलो सेमेस्टर पढाउँदा थोरै पैसा पाए उनले । दोस्रो सेमेस्टर पनि उनले पढाएर सके । तर आज, भोलि, पर्सि गर्दै दिन बिते, पारिश्रमिक भने पाउन सकेनन् । सेफर्डकै अनन्त मैनाली भन्ने शिक्षकलाई उनले फोन गरे र सोधे । उनले हेरेर खबर गर्ने निमेषलाई आश्वासन दिए ।

तर दिन, साता, महिना बित्दा पनि तलब दिने मनस्थितिमा कलेज प्रशासन पुगेन । फेरि केही महिनामा फोन गर्दा ‘हस् सर म हेर्छु’ भन्ने जवाफ मात्रै आयो । फेरि केही महिनापछि फोन गर्दा अनन्तले आफूले कलेज नै छाडेको प्रतिक्रिया दिए । निमेषलाई आक्रोशको भावना आयो र दुईचार कुरा नराम्रो पनि भने ।

फेरि उनले प्रिन्सिपल सुरेश आचार्यलाई फोन गरे । ‘हेर्छु नि’ भन्ने मात्रै जवाफ आयो । केही समयपछि फेरि फोन गर्दा ‘म बुझ्दै छु’ भन्ने मात्रै जवाफ आयो । यस बेलाचाहिँ निमेषलाई कलेजका सञ्चालकहरू ‘महाठग’ रहेछन् भन्ने लाग्यो । उनलाई ‘मेरो तलब देऊ’ भनेर हारगुहार गर्नु बेकार लाग्योे । कहिले दिँदा रहेछन् हेरौं भनेर निमेषले फोनै गर्न छाडिदिए ।

पढाएको ८ वर्ष पुगे पनि तलब दिने तरखर देखिएन । उनको मनमा अपमानित भएको महसुस पनि भयो । आफू ठगिनु भनेको सम्पूर्ण शिक्षक ठगिनु हो भन्ने महसुस भयो । पाँच हजार साथी भएको फेसबुक पेजमा स्टाटस लेख्ने निमेषले निधो गरे ।

वास्तवमा देशभरका निजी कलजेमा पढाउन शिक्षकहरू आर्थिक शोषणबाट वाक्क-दिक्क छन् । एकातिर तलब नै कम दिने गरिएको छ । अर्कातिर सम्झौताअनुसार तोकिएको तलब नदिएर शिक्षकहरूलाई झुलाउने गरिएको छ ।

यस्तै ८ वर्षअघिको तलब नदिएर आर्थिक श्रोषणमा परेर वाक्कदिक्क भएका शिक्षक हुन् निमेष । उनले आफूलाई पारिश्रमिक नदिँदा आफूमात्र होइन, सम्पूर्ण शिक्षक नै ठगिएको महसुस भयो । बौद्धिक जगतमाथि अपमान गरेको महसुस भयो । ८ वर्षअघिको अपमान उनले सहन सकेनन् । आखिर पाँच हजार साथी भएको फेसबुक पेजबाट आन्दोलनरूपी स्टाटस बिहीबार बिहान लेखेका छन् ।

फेसबुक स्टाटसमा निमेष लेख्छन्, ‘यो सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी भन्नेले पत्रकारिताको जनशक्ति उत्पादन गर्छ तर यसले एक सेमेस्टर पढाएको पैसा खायो । यसलाई के गर्ने ? यसको बारेमा अलिकति लेख्नुपर्ला जस्तो छ । एउटा गज्जबको स्टोरी छ यो कलेजको बारेमा । बौद्धिक ठगी र ठगहरू ।’

जब निमेषले कलेजमा आफूले पढाएको पारिश्रमिक नदिएको विषयमा केन्द्रित हुँदै स्टाटस लेखे, त्यसपछि विभिन्न टिप्पणी ओइरिए । अमृत भादगाउँले लेख्छन्, ‘लेख्ने पनि, कानुनी उपचार पनि खोज्ने ।’ यस्तै निमेषले भादगाउँलेलाई जवाफ दिइहाल्छन्, ‘यस्ता लुतेलाई के मुद्दा हाल्ने, यसको प्रचारप्रसार गर्ने हो ।’

यस्तै निमेषको स्टाटसमा भोजराज न्यौपानेको ध्यानाकर्षण भएको छ । उनी लेख्छन्, ‘कसैकसैको पैसाको केसमा अदालतमा मुद्दा परेर, मुद्दा जितेर पनि पैसा अझै पाएको छैन क्यारे ? कसो ।’ भोजराजको जवाफ निमेष दिइहाल्न पछि पर्दैनन् । लेख्छन्, ‘ठगीको बारेमा प्रचार गरिदियो भने पनि हुन्छ । अरू थुप्रै मजस्ता साथीहरू यिनको ठगीबाट बच्छन् भन्ने हो ।’

प्रतीक्षा काफ्लेले सेफर्ड नामको कलेजमा यस्ता समस्या आइरहने जनाएकी छन् । यस्तै उमेश पोखरेल पनि कलेजमा पढाउँदा पैसा नदिएर पीडित छन् । उनले पनि निम्स कलेज लगनखेलले आफूले पढाएको तलब नदिएको सामाजिक सन्जालमार्फत गुनासो गरेका छन् । कलेज छाडेपछि दुईपटक तलब माग्न गएको र नदिएपछि माग्नै छोडिदिएको पोखरेलको भनाइ छ । कलेजको नाममा लुट्नेहरूविरुद्ध सबै मिलेर आन्दोलन छेड्नुपर्ने उमेश जवाफ दिन्छन् । उमेश पनि निमेषको भनाइमा सहमत हुँदै लेख्छन्, ‘त्यो राम्रो विचार हो । त्यसो गरौं । यो नेपालको श्रम अधिकारसम्बन्धी आन्दोलन हुनेछ, विशेषगरी शिक्षामा ।’

महेन्द्र श्रेष्ठले ‘हामीले सँगै काम गरेकाले कति ठगठाग गर्यो, सर ?’ भन्ने लेखेका छन् । निमेष जवाफ दिन्छन्, ‘त्यसले पनि केही दिनुपर्ने अहिलेसम्म अत्तोपत्तो छैन । फोन गरेको छु, दिएन भने ढुक्क हुनुस्, नाम सार्वजनिक गरिदिन्छु ।’

यता राधी कँडेल कलेज ठग मात्रै हैन महाठग भएको प्रतिक्रिया दिन्छिन् । उता शेष पौडेल पनि कलेजको रवैयाप्रति सन्तुष्ट छैनन् । पौडेल लेख्छन्, ‘ठोकौँ सर ! विद्यार्थी भर्ना हुने बेलामा त्यस्तो लेख भाइरल पारौँ । विद्यार्थी भर्ना नभएपछि उही ठगिन्छ !’

यस्तै शम्भुप्रसाद कट्टेल पनि शिक्षकहरूलाई कलेजले गर्ने ठगीबाट वाक्कदिक्क छन् । उनले कलेजका सञ्चालकहरूले पैसै नदिएर पढाउन छाडेको मनसाय सामाजिक सन्जालमा लेख्छन् । उनको आक्रोश यस्तो छ, ‘अझै दिएन ? ठग नै रहेछ । मेरो त अस्ति ४६ हजार आएको एसएमएस आयो । पछि खोजी गर्दा दुई वर्ष पहिला पढाएको हालिदिएछ एउटा कलेजले । म त्यही कारणले त्यो कलेज पढाउन छाडेको वर्ष पुग्यो । थर्काउनुस् न ल ।

उता डम्बर न्यौपाने किताबका ठगप्रति आक्रोशित छन् । उनी लेख्छन्, ‘तपाईं यो ठगीरिुद्ध उत्रिनुभयो भने किताबका ठगविरुद्ध उत्रन्छु । मिलेर उत्रौं ।’ काठमाडौंमा समयमा तलब नदिएर अनि पचाएर नै शिक्षाको नाममा व्यापार गर्ने धेरै छन् । यस्तै शिक्षकलाइ्र्र ठगी गर्ने अर्को कलेजमा ब्रिज वाटर इन्टरनेसन पनि छ । उक्त कलेजले पनि तलब नदिएकाले आवाज उठाउने दिन सुरु भएको केही शिक्षकहरू बताउँछन् ।

सेफर्ड कलेजले आठ वर्षअघिको पारिश्रमिक अझै नदिएपछि शिक्षक निमेषलाई आफू अपमानित भएको पीडाले बिर्साउन सकेन । वास्तवमा निमेषले त पछिल्लो समयमा सार्वजनिक रूपमा नै आफूमाथि परेको पीडाको छताछुल्ल पारिदिए । यस्तै काठमाडौंका विभिन्न कलेज छन्, जसले शिक्षकलाई उचित पारिश्रमिक दिएका छैनन् । तोकिएको पारिश्रमिक कलेज सञ्चालकहरूले नै पचाइदिएका छन् । सबैले आफ्ना पीडालाई सार्वजनिक गर्न पनि सक्दैनन् । कलेजले गरेको ज्यादतिको सार्वजनिक गर्ने आँटिला शिक्षक हुन् निमेष ।

निमेषले पहिलो स्टाटस लेखेको लगभग ८ घण्टामा उनलाई कलेजबाट फोन आयो । कलेजबाट फोन आएपछि उनी फेरि यस्तो स्टास लेख्छन्, ‘सेफर्ड कलेजको फोन आएको छ । उहाँहरूले मलाई सन् २०१४ मा पढाएको र भुक्तानी नगरेको एक सेमेस्टरको भुक्तानी मंगलबारसम्म गरिदिने आश्वासन दिनुभएको छ । हेरौं के हुन्छ ।’
मंगलबारसम्म आफूले ब्याजसहितको पारिश्रमिक पाउनेमा ढुक्क रहेको निमेषले नेपालखोजसँग प्रतिक्रिया दिँदै भन्छन्, ‘हेरौं मंगलबारसम्म मिहिनेतको फल आइहाल्छ कि ।’ कलेजबाट फोन आएपछि निमेषले बिहान लेखेभन्दा राति फरक किसिमले स्टाटस लेखेका हुन् । उनलाई धेरैले उनको कदम सफल भएकामा बधाई पनि दिएका छन् । उनको स्टाटस सार्वजनिक हुनेबित्तिकै विभिन्न टिप्पणी आएका हुन् ।

यस्तै शम्भुप्रसाद कट्टेलले ठगी पनि एकेडेमिक क्षेत्रको खराबी हो भन्ने कमेन्ट गरेका छन् । यता अमृत पोखरेल लेख्छन्, ‘सन् २०१४ को बाँकी अझै, ब्याज पनि माग्नुहोला, डबल नै हुने रहेछ ।’ वास्तवमा अमृत पोखरेलले भनेजस्तै ब्याजसहितको तलब आयो भने मात्रै निमेषलाई अझै न्याय हुने देखिन्छ । ८ वर्षअघिको महँगी र अहिले धेरै फरक छ । ८ वर्षअघि उक्त रकमले धेरै काम गथ्र्यो भने अहिले सामान्य मात्रै ।

वास्तवमा निमेषलाई मात्रै होइन, देशका विभिन्न कलेजले पनि शिक्षकहरूलाई ठग्ने गरेका प्रशस्तै उदाहरण छन् । आफू पनि विराटनगरमा ठगिएको उदाहरण दिँदै यज्ञ श्रेष्ठ लेख्छन्, ‘मेरो पनि यहाँ विराटनगरको एउटा कलेजबाट दुई दशक पहिलेको तीन महिनाजतिको लिन बाँकी थियो ।’ यस्तै राजेन्द्र भट्ट निमेषको स्टाटसमा टिप्पणी लेख्छन्, ‘ब्याजसहित पाउने होला सर । झोला ठूलै चाहिएला ।’

निमेषले लेखेको स्टाटस सार्वजनिक भएपछि कलेज प्रशासनको ध्यानकर्षण भएर तलब दिने मनसायले बोलाएको बुझिएको छ । वास्तवमा निमेषको स्टाटस कलेजले गर्ने बौद्धिक शोषणविरुद्धको आन्दोलनको पाइला हो । उनले स्टाटस सेयर गरेपछि धेरैजना बौद्धिक व्यक्ति तथा शिक्षकहरूले कमेन्ट गरेका छन् । उनले लेखेको स्टाटसमा कमेन्ट गर्नेहरू पनि निजी कलेजको आर्थिक शोषणमा रहेको खुलेको छ । आफू शोषणमा परेको पीडा मनमा लुकाउने होइन, निमेषले जस्तै सबैले सार्वजनिक रूपमै छताछुल्ल पारिए निजी कलेजमा पढाउने शिक्षकहरू शोषणको जालोमा नपर्ने देखिन्छ ।

प्रतिक्रिया