मूल्य शृंखलामा आबद्ध कृषकहरुमा वित्तीय सेवा प्रवाहको लागि सम्झौता
काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार मूल्य श्रृंखलामा आवद्ध कृषकहरुमा वित्तीय सेवा प्रवाहको लागि उक्त सम्झौता भएको हो । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम भएको बैंकले जानकारी दिएको छ ।
कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिबी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य
(लक्ष्य १– गरिवी विहीन र लक्ष्य २– शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमका निम्नलिखित ४ सह–सम्भाग रहेको बैंकले जानकारी दिएको छ ।
जसअनुसार सह–सम्भाग १ विस्तारित एवं विविधिकृत (समावेशी र दिगो कृषि मूल्य श्रृखला), सह–सम्भाग २ क्रियाशिल (बजारमुखी सार्वजनिक तथा सामुदायिक) पूर्वाधार, सह–सम्भाग ३ मूल्य श्रृंखला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवा, सह–सम्भाग ४ मूल्य श्रृखला विकासका र नविनताको लागि दिगो कृषि सेवा सहयोग माथि उल्लेखित चारवटा सह–सम्भागमध्ये कृषि क्षेत्र विकास कार्यक्रमले सह–सम्भाग ३ मार्फत कृषि उत्पादक, कृषि व्यवसायी र साना किसानको माग अनुसारको वित्तीय सेवाको लागि उपयुक्त वित्तीय सेवा प्रदायकहरु; बैंक तथा वित्तीय संस्था र सहकारीसंग जोड्न सहजीकरण गर्छ ।
यसै सन्दर्भमा कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच सम्झौता भएको छ। सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रकाश कुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक विनोद कुमार भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं कृषि क्षेत्र विकास कार्यक्रम तथा प्रभु बैंक लिमिटेडका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
हस्ताक्षर कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य श्रृंखलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नु रहेको छ । हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दे यस कार्यक्रमका अध्यक्ष तथा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले शुभ कार्यको लागि धन्यवादका साथै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।
साथै, प्रभु बैंकका तर्फबाट सम्बोधन गर्दे प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरुप लक्षित वर्गहरुलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरतासमेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी, कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया