शनिबार, वैशाख ८, २०८१

धम्क्याएर व्यापारीसँग ७ करोड माग्ने ६ पत्रकारसहित ७ जना पक्राउ

नेपालखोज २०७९ जेठ १३ गते २१:४९

काठमाडौं । व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एकजना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रुपैयाँ माग गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका १० का २१ वर्षीय सुजन आचार्य, काठमाडौं बूढानीलकण्ठ बस्ने कालीकोट सान्नी त्रिवेणी गाउँपालिका ८ का २९ वर्षीय टेक विक, काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका ७ का २९ वर्षीय धर्मराज थापा रहेका छन् ।

साथै काठमाडौं काँडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका २ का ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका २ का २९ वर्षीया वसन्ता खनाल रहेका छन् । यस्तै काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका ११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगलमै बस्ने काठमाडौं महानगरपालिका ९ का ३३ वर्षीय श्रवण कार्की छन् ।

उनीहरूले पीडित (व्यापारी) बाट उक्त रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया