आज आर्थिक सर्वेक्षण, भोलि बजेट
काठमाडौं । प्रतिनिधिसभाको आज (शनिबार) को बैठकमा आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण पेस गरिँदै छ ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । संसदमा हिजो (शुक्रबार) नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सम्भव भएन ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने प्रावधान छ । संघीय संसदको संयुक्त बैठकमा भोलि (आइतबार) अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेस गर्नेछन् । प्रत्येक वर्ष जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
चालु आवको ५ दशमलव ८४ प्रतिशत आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्यांक विभागले यसअघि नै प्रक्षेपण गरिसकेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति एवं महत्त्पूर्ण आर्थिक सूचकका विश्लेषण समावेश गरिएको हुन्छ ।
-फाइल तस्बिर
प्रतिक्रिया