आइतबार, वैशाख २८, २०८२

सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

प्रतिकुल मौसमका कारण खोजीमा समस्या

नेपालखोज २०७९ जेठ १५ गते १२:४६

काठमाडौ. । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको बताएका छन् । तारा एयरको ९ एन एईटी ट्विनअटर विमान त्यसपछि सम्पर्कविहीन बनेको प्रजिअ आचार्यको भनाइ छ । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिएका छन् । जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको उनले जनाए । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ गएको कास्कीका प्रजिअ आचार्यले जानकारी दिएका छन् ।

जहाज लेतेमाथिकाे पहाडमा दुर्घटनाग्रस्त भएकाे बुझिएकाे छ । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका ३ सदस्य सवार रहेको जनाइएको छ ।

विमान सम्पर्कविहीन भएको अवस्था सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले सञ्चारकर्मीलाई जानकारी दिएकाे छ । प्रतिकूल मौसमका कारण विमान खोजीमा समस्या भएको छ । मौसम खराब भएका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिक्रिया