विनोद पहाडीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’

नेपालखोज २०७९ जेठ १६ गते ११:५३

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७८’ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ । संविधानसभा सदस्य (२०६४-६९) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार रुपैयाँ राशि र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने समाजका सभापति गोविन्द खनालले विज्ञप्तिमार्फत जनाएका छन् ।

तीन दशक अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक-पटक पक्राउ परेका पहाडी डा. भीमराव अम्बेडकर अवार्डबाट समेत सम्मानित भइसकेका छन् । पिता रामबहादुर नेपाली र आमा शोभी नेपालीका पुत्र विनोदको जन्म २०२८ वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल बसोबास गर्दै आएका पहाडी २०४६ देखि पत्रकारितामा संलग्न छन् । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल (२०५३-५८) सभापति रहिसकेका छन् ।

दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान/अध्ययन कार्यमा समेत योगदान गरेका छन् ।

प्रतिक्रिया