सोमबार, वैशाख २४, २०८१

पदभारसँगै बालेन्द्रको पहिलो निर्णय बन्यो नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने

‘काठमाडौंको फोहोर व्यवस्थापन र सिसडोलवासीले स्वच्छ पानी, स्वच्छ वातावरणमा बस्ने व्यवस्था नहुन्जेल अरु काम हुँदैन’

नेपालखोज २०७९ जेठ १६ गते १४:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।

कार्यपालिकाको पहिलो बैठक भोलि (सोमबार) दिउँसो ४ बजेका लागि बोलाइएको छ । पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

‘२-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुनुभएको छ,’ नवनिर्वाचित मेयर शाहले भने, ‘छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो । फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलवासीले स्वच्छ वातावरण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’

महानगरका मेयर-उपमेयरसहित नवनिर्वाचित पदाधिकारीले लिए शपथ, सम्हाले कार्यभार

यसअघि राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका नवनिर्वाचित सबै पदाधिकारीहरूले शपथ लिएका थिए । मेयर शाह, उपमेयर सुनीता डंगोललगायत पदाधिकारीहरुले शपथ लिएका हुन् ।

शपथ ग्रहणसँगै जनप्रतिनिधिहरुले आजैदेखि पदभार पनि सम्हालेका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित शाहले पहिले नेपाली र पछि नेपाल भाषामा शपथ लिए । मेयर शाहसँग भने उपमेयर डंगोलले नेपाल भाषामै शपथ लिइन् ।

कार्यक्रममा वडाध्यक्ष, वडा-सदस्यहरुलाई पनि शपथ गराइएको थियो । निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र पनि वितरण गरेको थियो ।

प्रतिक्रिया