महोत्तरीमा गौशालाका गाईको बिजोग

नेपालखोज २०७९ जेठ १८ गते ११:५६

महोत्तरी । हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका-३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।

राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । गाईको अवस्थाबारे गौशाला-४ का अजय कुशवाहाले भने, ‘न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौं रुपैयाँ खोरमा थुनिएका छन् । पछिल्लो एक वर्षभित्र गौशालाका २० भन्दा बढी गाई मरिसकेका छन् ।

अहिले गौशालामा करिब ३०० गाई छन् । गौशालाका गाई हेर्न पुग्नुभएका महोत्तरीकै भङ्गाहा नगरपालिका-४ रामनगरका रामईश्वर ठाकुरले भने, ‘सबैजसो गाईका करङ देखिएका छन् ।’ गाईले हरियो घाँस नपाएको महिनौँ भएको छ । गौशाला गाईगोठ पुग्दा गाईको अवस्था देखेर द्रवित नहुने कोही हुँदैनन् ।

गौशालाका कर्मचारी भने गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासिन रहेको बताउँछन् । निगौल गाई गौशाला कार्यालयका प्रमुख डा दीपेन्द्र पण्डितले भने, ‘अभिभावकत्व लिने राष्ट्रिय सहकारी विकास बोर्डले कुनै वास्ता गर्दैन, के गरी धान्ने रुपैयाँ’ गौशाला सञ्चालनका लागि १५० बिघा जग्गा छ । जग्गामा घाँस र अन्य बाली समुचित तवरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको हो ।

स्थानीय मनोज थापाले भने, ‘गाईकै खानपान प्रबन्धका लागि जग्गा हो, जग्गामा घाँस र अन्य बाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ । केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीय तहको बेवास्ताले बिजोग छ ।’ निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका २१ कर्मचारी कार्यरत छन् ।

गोठमा १०औं वर्ष पालिएका गाईले बहर लिएका छैनन् । गाई थारा बस्ने क्रम बढेको छ । कार्यालय प्रमुख पण्डित भने, ‘गोठमा थारा गाई त छन्, गाई बहाल (गर्भवती) नहुने समस्या छ ।’ गौशालामा अहिले १८ दूध दिने गाई छन् । यी गाईबाट दैनिक १२ लिटरमात्र दूध संकलन हुनसकेको छ । गाईलाई पौष्टिक आहार दिन नसकिएकै कारण दूधको मात्रा निकै कम भएको कार्यालय प्रमुख डा पण्डितको स्वीकारोक्ति छ ।

बोर्डले गाईको सम्भार र स्याहारका लागि रकम नपठाउँदा अवस्था चिन्ताजनक बनेको पण्डितको भनाइ छ । उनले भने, ‘गाईकै खानपानका पौष्टिक आहारको २२ लाख रुपैयाँ ऋृण तिर्न बाँकी छ ।’ अब त उधारो पत्याउन छाडे, त्यसैले गाईलाई पौष्टिक आहार खुवाउन सकिएको छैन । यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने पण्डितको भनाइ छ ।

गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत रकम आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले दिन आनाकानी गर्दै आएको पण्डितले बताए ।

प्रतिक्रिया