जुम्लाको पाटन क्षेत्रमा यार्सा संकलन गर्नेकाे भिड

खलंगा । यार्सा संकलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा संकलनलाई लिइने गरिन्छ । यार्सा संकलनका लागि पाटनतिर लागेकाकारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ ।
गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए । यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा गाउँपालिकालगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ गएका छन् । आर्थिक स्रोत जुटाउन यार्सा टिप्न पाटनतिर लागेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए ।
१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । खेतीपातीबाट घरखर्च लगाउन पनि गह्रो हुने भएकोले स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोतनै जडीबुटी हो । घरखर्चदेखि बालबच्चाको पढाइखर्च सबै यार्सा संकलनबाट हुने गरेको स्थानीयवासीले जनाएका छन् ।-रासस

प्रतिक्रिया