सोमबार, पुष ७, २०८२

सिटिजन्सको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ एपमा

नेपालखोज २०७९ जेठ १८ गते १४:५१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा–सुविधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।

अब बैंकका ग्राहकले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एवं सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन् ।

यो सेवा प्रयोग गरी ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको एक सय ७४ शाखा तथा १२ हजारभन्दा बढी एजेन्ट–सब–एजेन्टबाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई–केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्ने जस्ता सुविधाको सुरुवात गरिसकेको छ ।

साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना जिज्ञासा तथा समस्याको समाधान गर्न सकिनेछ ।

यस प्रकारको सेवाबाट ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभर फैलिएका आफ्ना १७४ शाखा, १२५ एटीएम र ९३ शाखारहित बैंकिङ एकाइबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया