मन्त्री चौधरी भन्छन्- वैकल्पिक स्राेतबाट राजधानीवासीलाई पानी

नेपालखोज २०७९ जेठ १८ गते २०:४५

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन् ।

खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं तर्फ पथान्तरण गर्ने कामबन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए ।

‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरे अनुसार केहि दिनभित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाईभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्दगरिएको छ’, मन्त्री चौधरीले भने ।

उनले मेलम्चीको नदिबाट दैनिक १७ करोड लिटर पानीवितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पको रुपमा वाग्मती नदिबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग७ करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ती गरिने बताए ।

वर्षायाम समाप्त हुने वित्तिकै मेलम्चीको पानी पुनःपथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आम उपभोक्तामा पर्न गएको असुविधा प्रति क्षमा याचना गरे ।

उनले भने, ‘मेलम्चीको पानी पुनः पथान्तरण गर्नको लागि दीर्घकालिन रुपमा हेडवक्र्सको मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा तयार भएको अध्ययन प्रतिवेदनको आधारमा वर्षायाम सकिने वित्तिकै कार्यान्वयन गरिने छ ।’

काठमाडौंको पानीको समस्यालाई दिगो रुपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोलालगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउने कार्यक्रमहरु क्रमश कार्यान्वयन गर्दै लाने मन्त्री चौधरीले बताए ।

आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्बर ढोकाबन्द गरेको थियो भने बुधबार १८ नम्बर ढोकाबन्द गरेको छ ।

मन्त्री चौधरीले गत वर्ष मेलम्ची नदीमा आएको बाढी परिरोबाट क्षतिग्रस्त सडक निर्माण, नदि नियन्त्रण र पहिरो नियन्त्रणका लागि सडक विभाग र सिँचाई विभागलाई बजेट व्यवस्था गरे बमोजिम हालतीब्र गतिमा काम भइरहेको जनाए ।

प्रतिक्रिया