ढुक्कले अझै खानेपानी पाइँदैन

बलेवा । बागलुङ नगरपालिका-६ का झण्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो ।
एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोले पटक पटक अवरुद्ध हुनेगरेको छ । हिउँदमा मुहान सुक्छ ।
असारदेखि फागुनसम्म पानीको समस्या कम हुन्छ । फागुनदेखि वैशाखसम्म खडेरीले निकै पिरोल्छ । बागलुङ नगरपालिका–६ का मानबहादुर केसीले भने, ‘आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, तर बाढी पहिरोले भने अवरुद्ध हुन्छ । पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ । पानीको मात्रा कम छ ।’ वर्षा हुँदा खानेपानीको समस्या कम हुन्छ ।
एक्काइस वर्ष अघि जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ । यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।
बागलुङ नगरपालिका–६ का २५० परिवारलाई अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पुर्याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताए । पुराना पँधेरा र कुँवाको भरमा खानेपानीको जोहो गरिँदै छ । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पुर्याउने योजना रहेको उनले सुनाए ।
उनले भने, ‘बर्खाको समयमा खासै समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ ।’ पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले खानेपानीको समस्या झेल्नुपरेको हो । सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन । केसीले भने, ‘मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन् । घरघरै धारा बनाउन त पानीको मुहान चाहियो ।’ वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायत ठाउँमा लिफ्टििङ प्रविधिबाट पानी पुर्याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर समस्या समाधान गरिने वडाध्यक्ष केसीले बताए ।

प्रतिक्रिया