‘सकारात्मक सोचका साथ बजेट आयो, कार्यान्वयनमा मुस्किल’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई सकारात्मक सोचका साथ बजेट आएको बताएका छन् । तर तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको उनको गुनासो छ ।
आर्थिक वर्ष ०७९/८० का लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भई नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा गरिएको अन्तर्क्रियामा अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् । ‘कतिपय कर छुटका व्यवस्थाहरुले निर्यात प्रवर्द्धनभन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शंका उत्पन्न गराएको छ,’ उनले भने ।
संसदको दुवै सदनमा समेत व्यापक छलफल चलिरहेको सन्दर्भमा बजेटले समावेश गरेका नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको विषयलाई लिएर आयोजित उक्त अन्तर्क्रियामा अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, अर्थ-सचिव मधुकुमार मरासिनी, वरिष्ठ अर्थविद्, प्राध्यापक, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, विभिन्न बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालक र पत्रकारसहित करिब १२० जनाको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ अर्थशास्त्री तथा नेपाल आर्थिक संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुर्यालले बजेटका विषयमा कार्यपत्र प्रस्तुत गर्दै, बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए । ‘ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदनहरू अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु,’ उनले भने, ‘योभन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकाले विशेष ध्यान दिनुपर्दछ ।’
अर्थविद डा. पोषराज पाण्डेले तथ्यांक केलाउँदा बजेटले पोलिसी डिरेक्सन र आशा मात्रै जगाउने खालको देखिए पनि सकारात्मक सोच र सफा नियतका साथ बजेट आएको बताए । वरिष्ठ अर्थविद् प्रा.डा. गोविन्द नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको औंल्याउँदै गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुसम्मलाई समेत खुसी तुल्याउने गरी बजेट आएको बताए ।
अर्थ-सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिए पनि विगत ४/५ वर्षका बजेटहरुको शृंखला अध्ययन गर्दै तथ्यांकीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए । उनले भने, ‘बजेट राजनीतिक-आर्थिक दस्ताबेज पनि भएकाले केही महत्त्वकांक्षा यसले पनि बोकेको छ, तर प्राकृतिक स्रोतहरुले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयहरुको कार्यान्वयनमा हामी प्रतिबद्ध भएर लाग्यौं भने हाम्रो सपना सार्थक हुनेछ ।’ त्यसैगरी अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले क्रममा आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकताहरु समेट्दै सबैलाई अपनत्व महसुस हुने गरी बजेट आएको बताए । उनले भने, ‘बजेटले प्रदेश र स्थानीय निकायलाई ठूलो मात्रामा वित्तीय हस्तान्तरणसहित सशक्त बनाएको हुँदा बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ ।’
सिबिफिनका महानिर्देशक गोपालप्रसाद तिवारीद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री शर्माले बजेटमा सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताए । ‘बजेट निर्माणपूर्व हरेक सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्तर्क्रिया गरी सरोकारवालाहरुकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसहरुका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैका विषयहरुलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔं ।’ उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षहरुलाई समेत आग्रह गरे ।
प्रतिक्रिया