आइतबार, असार ८, २०८२

‘साउन १ भित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट’

नेपालखोज २०७९ जेठ २० गते ८:०७

काठमाडाैं । वागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा साउन १ भित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकाे छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै साउन १ भित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने चेतवानी दिएकाे छ । ‘सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा साउन १ पश्चात ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने छ ।’ विभागले सूचना जारी गर्दै भनेकाे छ ‘तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न ०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो । 

प्रतिक्रिया