सञ्चारमन्त्री कार्कीले भने, ‘सरकारको उच्च प्राथमिकतामा डिजिटल भुक्तानी’

नेपालखोज २०७९ जेठ २० गते १२:१९

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ ।

ब्रान्डवर्थ प्रालिले काठमाडौंमा शुक्रबार आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्ताबेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो । साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्कमा समेत सघाउ पुग्ने उनले बताए । ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैं कायम गर्नुपर्छ,’ उनले भने । उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रूपान्तरण गर्नुपर्ने बताए । साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रूपमा लाभान्वित पनि उनले बताए ।

यस्तै, सूचना प्रविधिको विकासविना मुलुकको विकास असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । यस्तै, दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताए ।

यस्तै, सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो । साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकारात्मक रहेको उनले बताए । समग्रमा उनले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।

प्रतिक्रिया