बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई चाबहिलबाट पक्राउ गरेको छ ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९, सल्ले स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी ६ मा बस्ने इन्द्रकुमार राईलाई आज (शुक्रबार) पक्राउ गरिएको सीआईबीले जनाएको छ । राईमाथि २०७७ माघ २४ गते ग्लोबल आईएमई बैंक भक्तपुर शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी जाहेरवालालाई झुक्यानमा परेर दिएको चेकको भुक्तान नभएपछि उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । उच्च अदालतले राईलाई बैंकिङ कसूरका मुद्दामा २०७९ वैशाख ५ गते फैसला गर्दै प्रतिवादी बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कसुरमा चार दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
अदालतको फैसलालगत्तै राई फरार भएका थिए । फरार रहेका प्रतिवादी राईलाई सीआईबीको टोलीले चाबहिलबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई आजै काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया