स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन- ठूला होइन, जनता खुसी हुने साना काम गर्नुस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिसँग आज अर्थ मन्त्रालयमै भएको भेटमा शर्माले यस्तो आग्रह गरेका हुन् ।
‘तपाईंहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्,’ ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग भएको भेटमा अर्थमन्त्री शर्माले भने, ‘स्थानीय जनतालाई स-साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पूरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’
अर्थमन्त्रीसँगको भेटमा रुकुम पश्चिमका नगरपालिका प्रमुख/उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।
शर्माले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उनले निर्देशन दिए । ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाईंहरु (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’

संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न पनि शर्माले निर्देशन दिए । त्यस्तै प्रत्येक साता जनताको बीच गएर अन्तर्क्रिया, भेटघाट र सामीप्यता बढाउन पनि उनले सुझाए ।
मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास-योजनाबारे जिल्लास्तरका कर्मचारीसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सोभन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
छलफलमा जनप्रतिनिधिहरुले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायत बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया