भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

नेपालखोज २०७९ जेठ २० गते २०:३०

काठमाडाैं । भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ । समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि दुई अर्ब १७ करोड ८८ लाख रूपैयाँ बजेट विनियोजन भएको हो ।

षडानन्द नगरपालिकामा सबैभन्दा बढी ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा २४ करोड ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी भोजपुर नगरपालिकामा रु ४६ करोड ४९ लाख, अरुण गाउँपालिकामा ३१ करोड आठ लाख रूपैयाँ आमचोक गाउँपालिकामा रु ३१ करोड ९८ लाख र टेम्केमैयुङ गाउँपालिकामा रु ३८ करोड ६६ लाख बजेट आएको छ ।

पौवादुङमा गाउँपालिकामा रु ३० करोड १४ लाख, रामप्रसादराई गाउँपालिकामा रु ३१ करोड ६५ लाख र हतुवागढी गाउँपालिकामा २९ करोड ८२ लाख रूपैयाँ बजेट विनियोजन गरेको हो । अहिले केन्द्र सरकारबाट विनियोजन भएको बजेट आएको भए पनि अब प्रदेश सरकार र आन्तरिक आयलाई जोडेपछि सबै स्थानीय तहको अन्तिम बजेट तयार हुने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

देशभरका स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहले समानीकरण अनुदानअन्तर्गत एक खर्ब २३ करोड बजेट पाएका छन् । सःशर्त अनुदानतर्फ स्थानीय तहले एक खर्ब ८३ अर्ब ७२ करोड रूपैयाँ बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई सात अर्ब २७ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई नौ अर्ब १४ करोड रूपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया