बिहीबार, वैशाख १३, २०८१

साइकलको आविष्कार

सुनील उलक २०७९ जेठ २१ गते ८:४०

कार्ल फ्रेरर भन ड्रसले आफ्नै मिहिनेत र डिजाइनमा hobby-horse (काठे-घोडा) नाम गरेको साइकलजस्तै बनाए पनि नाम भने साइकल राखिएको थिएन । पहिलोपटक सन १८१७ जुन १२ अर्थात् वि.सं. १८७४ को असार १ गते उनले सो काठे घोडा कुदाउँदा १३ किमिको यात्रा एक घण्टाभन्दा कम समय लागेको थियो । २२ किलोको काठै-काठले बनेको यो काठे-घोडामा पछाडिको चक्कामा ब्रेक पनि जडान गरिएको थियो ।

भन ड्रसको सफलतापछि सन १८१८ मा बेलायती बग्गी बनाउने मेकानिक्स डेनिस जोनसनले केही सुधार गरेर नयाँ डिजाइन बनाए । यसलाई उनले ‘pedestrian curricle’ नाम दिए । हिँडेर चलाउने बग्गीका रुपमा विकसित गराए । यसमा पनि पाउदानी थिएन । यसको सफलताले उनले सो काठेघोडाको प्याटेन्ट ‘velocipede’ नामबाट लिए । यसपछि युरोपमा यो काठेघोडा हजारौं उत्पादन भएर बिक्री पनि भयो । यसको साथै ३ पाङ्ग्रे र ४ पाङ्ग्रे काठेघोडा बन्न थालेका थिए ।

साइकल आविष्कारको करिब १०० वर्ष पुग्न लाग्दा सन् १९१० मा भारतमा रहेको अंग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्र्याएका थिए । यी साइकलहरु विभिन्न प्रयोजनका लागि भित्र्याइएको थियो । भारत भित्रिएको यही साइकलमध्ये केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ । त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा-नातिहरुका लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ ।

श्री ३ वीरशमशेरका वैज्ञानिक छोरा गेहेन्द्रशमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै वैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौं : उहिले र अहिले’मा शूरशमशेर नै साइकल भित्र्याउने व्यक्ति रहेको अनुमान गरेका छन् । उनको अनुमानमा सन् १९०३ लेखिएको छ । तर भारतमा अंग्रेज सरकारको समयमा पहिलो खेपमा ३५ हजार थान साइकल भित्र्याएको नै सन् १९१० मा भएको हुँदा सोही समयमै नेपालमा पनि साइकल भित्रिएको सहजै अनुमान गर्न सक्छौं ।

यसपछि भारतीय व्यापारी सुधीरकुमार सेनले भारतमा साइकलको व्यवसायको सुरुवात नै गरेका थिए । उनले बेलायतको प्रख्यात साइकल रेलै साइकल (Raleigh cycle)सँग मिलेर सेन रैले साइकल उत्पादनसमेत गरेका थिए ।

सन् १८१५ मा इन्डोनेसियाको टम्बोरा पर्वतमा आएको अहिलेसम्मको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटले आकाशभरि धुलो भरिँदा विश्व नै सूर्यको प्रकाशविना रहन पुगेको थियो । जसले गर्दा सन् १८१६ लाई a year without a summer अर्थात गर्मी हराएको वर्षका रुपमा चिनिन्छ । यसरी ज्वालामुखीका कारणले विश्वभर मौसममा खराबी आएर अनाजको उत्पादन नै शून्यको करिब पुगेको समय अनिकाल लागेको थियो । यसरी अनिकाल पर्दा दानाको अभावमा निकै घोडाहरुको पनि मृत्यु भयो । यही समय कार्ल फ्रेररले काठेघोडाको आविष्कार गरेका थिए । यसरी यातायातको प्रमुख रहेको घोडाको अभावमा बनाइएको काठेघोडा नै आजको साइकलको पूर्वस्वरुप बन्न गयो ।

कार्ल फ्रेरर भन ड्रस र डेनिस जोनसनको साइकलको डिजाइनले साइकलमा सुधार गर्न क्रम अझै तीव्र हुँदै जान थालेको थियो । सन् १८३९ मा आइपुग्दा पाइला टेकेरै भगाउनुपर्ने साइकललाई पाउदानीमा खुट्टाले बल गरेर पाङ्ग्रा घुमाउन सफलता हासिल भयो । यो सफलता नै आजको साइकलको युगको वास्तविक आधुनिक स्वरुप थियो । स्कटल्यान्डका फलामको ज्यासल चलाएर बस्ने कर्कप्याट्रिक म्याकमिलनले पहिलोपटक काठेघोडालाई पाइला टेकेर भगाउनबाट जोगाउँदै पाउदानीमा पाइलाले बल गरेर पाङ्ग्रा घुमाउन सफल भएका थिए ।

साथै उनले पाङ्ग्रालाई फलामको पाताबाट बनाए । चक्काको बाहिर काठले मोडेका थिए । जसले गर्दा कम बलमा नै साइकल बढी कुदाउन सकिन्थ्यो । अगाडि सानो पाङ्ग्रा राखिएको थियो भने पछाडि ठूलो पाङ्ग्रा राखिएको थियो । यहि पछाडिको ठूलो पाङ्ग्रामा पाउदानी जोडिएको थियो । तर अचेलको जस्तो चेनको सहायताले पाङ्ग्रा घुमाउने विकास भएको थिएन । दुई पाउदानी घुमाउँदा पछाडिको पाङ्ग्रामा जोडिएका दुईवटा लामा डन्डीलाई अगाडि पछाडि गर्दथ्यो । जसले गर्दा पछाडिको पाङ्ग्रा घुम्थ्यो । यसरी साइकलको दोस्रो युगको सुरुवात भयो ।

प्रतिक्रिया