बुधबार, जेठ २, २०८१

हेलचेक्रयाइँ नगरौं !

लोकेश ढकाल २०७८ जेठ १ गते ११:३६

विश्वव्यापी कोभिड-१९ को चपेटामा नेपाल डरलाग्दोसँग फस्न पुग्यो । देशको स्वास्थ्य प्रणालीले यो महामारीलाई थेग्न नसक्ने भइसक्यो । सरकारले आम नागरिकलाई भ्याक्सिन उपलब्ध गराउन सकिरहेको छैन । कोभिडका विरामीको लागि वरदान मानिने अक्सिजनको जोहो गर्न समेत सरकार असफल भएको छ । बिरामीले हस्पिटलको बेड नपाएर, अक्सिजन नपाएर मर्नु परिरहेको गम्भीर एवं दुःखदायी अवस्था दिनदिनै देख्नुपरिरहेको छ । यो डरलाग्दो महामारीमा सरकार भने सत्ताको बाँसुरीको बजाउँदै असफलता, कुशासन, भ्रष्टाचार आन्तरिक झगडाको आहालमा डुबेर बसेको छ ।

निश्चयः नै पश्चिमा धनी देश र निकै उच्च स्वास्थ्य प्रणाली भएको मानिएको छिमेकी देश भारतलाई त यो महामारी नियन्त्रण गर्न हम्मेहम्मे भैरको अवस्थामा नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली र विपन्न आर्थिक अवस्थाको कारण महामारी नियन्त्रण गर्न सकस त पर्ने नै भयो । त्यसमाथि आर्थिक दृष्टिले मात्र विपन्न नभएर राजनीतिक दृष्टिले समेत गरिब मानसिकताको तल्लो स्तरको राजनीतिले गर्दा देशले अरू कति मूल्य चुकाउनु पर्ने हो त्यसको कुनै टुंगो छैन । देशमा सरकारको सामान्य उपस्थितिको अनुभुति समेत जनताले गर्न सकिरहेका छैनन् । सरकार र राजनीतिक दलहरू सत्ताको घिनलाग्दो खेलमा डुवेका छन्, जनताको जिउधनको सुरक्षा गर्नेतर्फ कुनै पर्वाह छैन ।

यो महामारीमा देशमा सरकार छ, देशमा जनताको जीउधनको सुरक्षा गर्ने स्वास्थ्य प्रणाली छ, केही भइहाले सरकारले गर्छ भनेर जनता ढुक्कसँग बस्न सक्ने अवस्था छैन । आउँदो केही साता अझै भयाभह र अत्यन्तै कठिन हुने निश्चित छ । भएका अस्पतालका बेड र अक्सिजनले त्यो स्वास्थ्य संकटलाई थेग्न सक्ने छैन । बेड, अक्सिजन र भेन्टिलेटरकै अभावमा मानिस दिनदिनै मर्नुपरिहेको छ । दोस्रो लहरसम्म त बेड, अक्सिजनको अभाव भइरहेको छ, यो महामारी नियन्त्रण हुन सकेन वा तेस्रो लहर आयो भने डाक्टर र नर्सलगायतको स्वास्थ्यकर्मीकै अभाव हुने निश्चित छ ।

अब मानिसले केही दुःख सहेर, एक छाक खाएर भए पनि आउँदो केही साता घरभित्रै बसिदिए हुन्थ्यो । निश्चयः यो अमूल्य जीवनको तुलनामा यो केही दिनको दुःख केही पनि होइन । दिनकादिन बजार जाने क्रम रोकौं । पसल, बाटो, गल्ली, चोक र खेल्ने ठाउँ सबैतिर संक्रमित छन् भन्ने बुझौं । तपाईंलाई जरूरी नै परेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दूरी कायम गरेर, हात साबुनपानी वा स्यानिटाइजरले सफा गर्नेलगायत सुरक्षा मापदण्डलाई पूरा पालन गरौं । साथीभाइ र परिवारको बीचको भेटघाट पूरै बन्द गरौं । आफू बाँचे, इष्टमित्र, आफन्त र साथीभाइहरू पनि बाँचे भेटघाट र रमाइलो त भोलि गरौंला, जीवनका अरू सबैथोक गर्दै रहौंला । अन्यथा, सोचौं ! तपाईं हामीले सामाजिक सन्जालमा मुस्किलले पाउने त्यही दुई शब्द ‘भावपूर्ण श्रद्धाञ्जली’ मात्र हो है !

सामाजिक सन्जाल फेसबुक, ट्‌विटर आदि खोल्नै नहुने भो ! कोही न कोही प्रियजनको श्रद्धाञ्जलीसहित तस्बिर पोस्ट भएको दुःखदायी सेयर हेर्नुपर्ने भएको छ । कसैको फोन आयो कि उठाउन डराइनुपर्ने भो ! को प्रियजन वा आफन्तको दुःखद समाचार सुन्नु पर्ने हो ! पाँच दिनअगाडि शंखरापुर ४ वडाध्यक्ष बुद्धिबहादुर तामाङ कोरोना कै सिकार भए, साँखुका समाजसेवी एवं कांग्रेसी कार्यकर्ता हरिश्चन्द्र श्रेष्ठलाई कोरोनाले नै लग्यो । अस्ति दिउँसो रेडियो नेपालका सञ्चारकर्मी भाई भुषण पोखरेलको फोनबाट मेरो पुराना पारिवारिक मित्र, राजनीतिककर्मी, लेखक एवं सम्पादक जीवनचन्द्र कोइरालाको दुःखद निधनको समाचार सुन्नुपर्‍यो । दुःख र पीडाका यी पंक्तिहरू लेखिरहँदा लप्सेफेदी साँखुका चिरपरिचित भरखरका युवा भाइ राजन तिवारीको निधनको दुःखद खबर सुन्नु पर्‍यो । चिनजानका निकट मित्रहरूको वियोगको प्रसंग उल्लेख गरेर साध्ये छैन । लौन न लोकेश दाइ अक्सिजनको जोहो गरिदिनुपर्‍यो, भेन्टिलेटर भएको बेड खोजिदिनुपर्‍यो भनेर गुहार आउँछ तर कसैलाई सहयोग गर्न सकिन्न, एउटा राजनीति कमी हुनुको नाताले कसैलाई सहयोग गर्न नसकिने निरूपाय भएर बस्नु पर्दा मन कुण्ठित भएको छ । राजनीतिक हस्पिटल दिनदिनै सयौंको संख्यामा नेपालीजन मृत्युको समाचार बनिरहेको छ । हजारौंको संख्यामा संक्रमित बढिरहेको सुन्नु परिरहेको छ । मन यसै यसै विचलित भइरहेको छ ।

यो कस्तो समय आयो ! आफ्ना प्रियजनको दुःखदायी निधनमा घाटसम्म पुगेर दुई थुंगा फूलसम्म चढाउन सकिन्न, श्रद्धाञ्जली व्यक्त गर्न सकिन्न ! परिवारजनलाई भेटेर समवेदना र सान्त्वनाको दुई शब्द व्यक्त गर्न सकिन्न ! मन लागेर, नलागेर भारी मनले त्यही सामाजिक सन्जालमा दुःख र श्रद्धाञ्जलीका केही शब्द व्यक्त गर्नुबाहेक कसैसँग कुनै विकल्प छैन । सबैसँग जस्तै त्यस्तै अवस्था रह्यो मित्र जीवन कोइरालाको दुःखद् निधनको प्रसङ्‌गमा पनि ।

मेरा पारिवारिक पुराना मित्र जीवनचन्द्र कोइरालासँग कोरोनाकालमा पनि नियमित फोन संवाद भइरहन्थ्यो । ज्यादा उनी नै कल गर्ने, राजनीति, साहित्यलगायत कुनै प्रसंगका कुरा भइरहन्थ्यो, सूचना र सल्लाहका लागि फोन गरिरहन्थे, केही साताअगाडि मात्र कांग्रेस महाधिवेशन र अन्तरपार्टी राजनीतिकै मामिलामा कुरा भएको थियो । म कहाँ आउँछु, भेटेरै कुरा गर्ने वचन थियो उनको । त्यो वचन अब कहिल्यै पूरा नगर्ने गरी उनी अनन्त: यात्राका लागि गए ।

०४१/४३ ताका म तत्कालीन राजधानी साप्ताहिकसँग आवद्ध थिए । लेख एवं अन्य साहित्यिक प्रसंगमा ०४१/४२ साल ताका जीवनजीका पिता, २००७ सालको जनक्रान्तिदेखि कै पुरानो कांग्रेसी नेता, ०१५ सालको पहिलो संसदीय निर्वाचनमा सिन्धुली क्षेत्रबाट सांसदको उमेद्‌वार, लेखक, अन्वेषक एवं संस्कृतिविद् कुलचन्द्र कोइरालालाई भेट्न म बरोबर गइरहन्थे । त्यसै क्रममा उहाँका छोराहरूलाई विस्तारै चिन्दै गएँ । लगभग सबै छोराहरू मेरानिकट मित्रहरू हुन् । जीवनचन्द्र राजनीतिमा सक्रिय भएको कारण मेरो उनीसँग अरूसँग भन्दा बढी निकटता हुनु स्वभाविक थियो । त्यसबेलादेखिको निकट मित्रता निरन्तर रह्‌यो । उनी प्रतिबन्धितकालदेखि प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका नाम थिए । ०४६ को जनआन्दोलनको परिणाम नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि कांग्रेसको संगठन निर्माण गर्ने क्रममा विशेष गरेर तत्कालीन क्षेत्र १ को संगठन बनाउने क्रममा उनीसँग अझ निकट हुन पुगें । कांग्रेसको ०४८ को आठौं महाधिवेशनबाट म काठमाडौं क्षेत्र १ को सभापति भएर काम गरिरहँदा उनी ०४९ को स्थानीय निकाय निर्वाचनमा त्यसै क्षेत्रअन्तर्गत पर्ने कामपा वडा ३४ को वडाध्यक्ष निर्वाचित भए ।

पछि मित्र जीवनचन्द्रजी काठमाडौंभन्दा रौतहटतिरै राजनीतिमा अलि सक्रियता बढाइरहेको देखिन्थ्यो । त्यो क्रम निरन्तर हुन सकेन । साहित्यिक गतिविधि र अन्य सामाजिक संस्थाहरूको उनको सक्रियता निकै थियो । पछिल्लो क्रममा पुनः काठमाडौंलाई केन्द्र बनाएर राजनीतिक सक्रियता बढ्दै गएको थियो । पछिल्लो प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र १ प्रदेश सभा क्षेत्र ‘क’ मा निर्वाचन लड्ने उनको इच्छा थियो, टक्कर राम्रै दिएका थिए तर तर टिकट पाएनन् तथापि राजनीतिक सक्रियता अझ त्यत्तिकै बढ्दै थियो । कांग्रेसको काठमाडौं संगठनमा उनको सक्रियताकै परिणाम नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सदस्य भएर उनको राजनीतिक सक्रियता अगाडि बढ्दै थियो ।

सरल र मिलनसार व्यक्तित्व भएका जीवनचन्द्र कोइराला प्रजातन्त्र राजनीतिक आस्था हो, राजनीतिक सक्रियता त्यसैको एउटा पाटो । तर जीवनचन्द्र कोइरालाको राजनीतिक पाटोभन्दा साहित्य, लेखन र अन्य सामाजिक संघ-संस्थाहरूमा आबद्धता र सक्रियताको पाटो निकै विशाल थियो ।

पहिलो कुरा, ५ भाइ-छोरामा लेखक, साहित्यकार एवं अन्वेषक पिताजीको असली उत्ताराधिकारी जीवनचन्द्र नै थिए । त्यसो त पिताजीको निधनपछि त्यो सिंगो कोइराला परिवारलाई अभिभावकत्व प्रदान गर्ने काम ज्येष्ठ पुत्र रमेशचन्द्र कोइरालाको थियो । दाजुकै अविभावकीय संरक्षकत्वमा जीवनचन्द राजनीतिककर्मी र साहित्यिककर्मी जीवनचन्द्र दुई व्यक्तित्वलाई सँगै लिएर अगाडि बढिरहेका थिए । परिवारकै साथले जीवनको सक्रियता र समन्वयमा कुलचन्द्र कोइराला स्मृति प्रतिस्ठान स्थापना गरी निरन्तर रूपमा त्यसलाई सक्रिय बनाइ पिताजीको व्यक्तित्व र कृतित्वलाई बचाइराख्न उनको योगदान अग्रणी थियो । प्रकाशित कृतिलाई पुनः प्रकाशन र अप्रकाशित कृतिलाई प्रकाशित गर्ने, पिताजीको नाममा पुरस्कारको स्थापना र नियमित वितरण गर्ने आदि कार्यमा सक्रियता राखेर पिताजी पितृभक्ति र सेवा गरेका थिए ।

नेपाली लेखन र साहित्यमा स्मृति-ग्रन्थ प्रकाशन एवं सम्पादन गरेर उनले यसमा नयाँ उचाइ स्थापित गरेका छन् । नेपालमा मूर्धन्य व्यक्तित्वको स्मृति ग्रन्थको सम्पादन गर्ने कार्यमा नेपालमा अहिले जीवनचन्द्रलाई उछिन्ने सायद अर्को व्यक्ति छैन । उनले राजनीतज्ञ, साहित्यकार, समाजसेवी, पूर्वप्रशासकलगायत राष्ट्रिय जनजीवनका दर्जनौं व्यक्तिको कृतित्व र व्यक्तित्व माथि प्रकाश पार्दै स्मृति ग्रन्थको सम्पादन एवं प्रकाशन गरेका छन् । बीपी कोइराला, गणेशमान सिंहलगायत राजनेतामाथि लेखिएका अन्तर्वार्ता र लेखहरूको संग्रह प्रकाशित गर्ने काम पनि त्यतिकै उल्लेखनीय छ । कहिल्यै चुप लागेर नवस्ने, समाजसेवा र साहित्यिक कर्ममा कुनै न कुनै काम सक्रिय भइरहने जीवनचन्द्र कोइरालाको चरित्र नै हो । उनी विशेष गरेर प्रजातान्त्रिक फाँटका साहित्यिक सर्जकहरू माझ निकै लोकप्रिय थिए । साहित्यिक सर्जकहरूलाई संगठित पार्न, समन्वय गर्न र परेका बेला सहयोग गर्न हरहमेसा तत्पर देखिन्थे । त्यसैको परिणाम उनी साझा प्रकाशनको सञ्चलक सदस्यमा निर्वाचन भएर काम गर्ने अवसर पाए । अघिल्लो कोभिडको लहर केही कम भएको अवस्थामा उनी साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्ष पदमा उठिरहेको वेला डबल मास्क लगाएर माधवप्रसाद उपाध्यायजीको साथमा उनलाई भोट हाल्नकै लागि पुल्चोक पुगेको थिए । उनले दायित्व वाङ्‌मय प्रतिष्ठानबाट प्रदान गरिने ‘दायित्व-मुरलदेवी-गुरूदत्त काफ्ले’ पुरस्कारबाट सम्मानित थिए ।

महामना मदनमोहन मालवीय मिसन, नेपालको सदस्य सचिव, कोइराला समाज नेपालको वरिष्ठ उपाध्यक्ष, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानको सचिव, नेपाली लेखक संघ, बीपी ट्रस्टलगायत दर्जनौं संघ-संस्थाहरूमा उनको आबद्धता र सक्रियता साँच्चिकै लोभलाग्दो थियो ।

यस्ता राजनीतिक, सामाजिक एवं साहित्यिककर्मी, बहुप्रतिभाशाली व्यक्तित्वलाई यो विश्वाव्यापी महामारीले छोडेन । साँच्चिकै उनको निधनमा देशको प्रजातान्त्रिक आन्दोलन, नेपाली कांग्रेस पार्टी, साहित्यिक फाँट र सिंगो राष्ट्रले एक होनहार सपुत गुमाएको छ । हार्दिक श्रद्धाञ्जली मित्र जीवनचन्द्र कोइरालाजी !

प्रतिक्रिया