५०औं विश्व वातावरण दिवस, वृक्षरोपणमा व्यस्त बन्यो शान्ति समाज

नेपालखोज २०७९ जेठ २२ गते १३:१२

काठमाडौं । ५०औँ विश्व वातावरण दिवस ५ जुनका अवसरमा मानवअधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

आज (आइतबार) शान्ति समाज काठमाडौं शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडौं शाखा सभापति भगवान पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका छन् ।

यसैगरी आइतबार बिहान समाजका शाखाहरूको आयोजनामा संखुवासभाको खाँदबारी, सुनसरीको धरान, रूपन्देहीको बुटवल, दाङको तुलसीपुर, चितवनको भरतपुर, मोरङको विराटनगर, महोत्तरीको जलेश्वर, पाल्पाको तानसेन, पर्साको वीरगन्ज, काठमाडौंको गोठाटारमा वृक्षरोपण कार्यक्रम गरिएका छन् ।

यसैगरी विभिन्न निकायसँगको सहकार्यमा सुर्खेत र ललितपुर शाखाले पनि वृक्षरोपण कार्यक्रम गरेको समाजले विज्ञप्तिमार्फत जनाएको छ । वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रूपमा जनचेतना फैलाउँदै संयुक्त राष्ट्रसंघको आह्वानमा ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ ।

प्रतिक्रिया