शुक्रबार, वैशाख ७, २०८१

गर्भवतीदेखि डिप्रेसनका लक्षण भएकालाई उपयोगी !

नेपालखोज २०७९ जेठ २३ गते १९:४७

काठमाडौं । नेपालमा पछिल्लो समय एभोकाडो फलको उत्पादन बढ्दै गएको छ । यसलाई कुलु नास्पती (एलिगेटर) वा माखन फल पनि भन्ने गरिन्छ । स्वास्थ्यका लागि फाइदैफाइदा भएको यस फलको महत्त्व भने अझै पनि मानिसहरूले बुझ्न सकेका छैनन् । यसमा कोलेस्ट्रोल नहुने भएकाले जो कोहीले पनि सेवन गर्न सक्छन् । यस्तै केही समय सम्मको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ ।

एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पति भएको मानिन्छ । आयुर्वेदका दृष्टिकोणले यसमा धेरै नै औषधीय गुणहरू छन् । हाम्रो शरीरका लागि चाहिने सम्पूर्ण पोषक तत्वहरू एउटा एभोकाडोबाट पाउन सकिन्छ । यो फलको उत्पादन समुद्र सतहबाट २५ सय मिटरसम्मको उचाइमा हुन्छ । यसमा शरीरका लागि फाइदाजनक फ्याट र कार्बोहाइड्रेट पाइन्छ । नेपालका विभिन्न ठाउँहरूमा आजभोलि मानिसहरूले यसको खेती गर्न थालेका छन् ।

किसानले नेपालको पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा मजाले यसको उत्पादन गर्दैछन् । किसानले गतिलो आम्दानी पनि गरिरहेका छन् । एभोकाडो लगभग ५५ वर्षसम्म जिवीत हुने फल हो । बिरुवा रोपेको एकदेखि पाँच वर्षसम्ममा फल लाग्न सुरु हुन्छ । एकै बोटमा एकसय देखि ५ सय वटासम्म फल लाग्ने किसान बताउँछन् ।

एभोकाडो हरियो रंगको बाक्लो बोक्रा भएको फल हो । यसमा धेरै क्यालोरी हुन्छ । एक मध्यम एभोकाडोको एक औंसमा ५० क्यालोरी हुन्छ । एभोकाडोमा बोसोजन्य पदार्थ धेरै हुन्छ । तर यो मोनोअनस्याचुरेटेड फ्याट हो, जुन ‘राम्रो फ्याट’ हो जसले खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ ।

एभोकाडोमा लगभग २० भिटामिन र खनिज पदार्थ पाइन्छ । यसमा चिनीको मात्रा कम हुन्छ । यस फलमा फाइबरको मात्रा बढी हुन्छ, जुन स्वास्थ्यबद्र्धक हुन्छ । यसमा अत्यधिक पोटासियम हुन्छ । पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । यस फलको सेवन गरेमा हृदयघात र मृगौला खराब हुने समस्याबाट राहत हुन्छ ।

पौष्टिक खाना समावेश गर्ने स्वस्थ जीवनशैलीले रोगलाई रोक्न र उल्टाउन मद्दत गर्न सक्छ । एभोकाडो पनि यस्तै एक स्वस्थ खाना हो । यसबाट प्राप्त हुने भिटामिन, खनिज र स्वस्थ बोसोले रोगलाई रोक्न र शरीरलाई सिस्टममा राख्न मद्दत गर्दछ । क्यान्सरको उपचार गर्दा केमो थारापीको साइड इफेक्ट कम गराउन यो फल निकै नै प्रभावकारी मानिन्छ ।

यसबाट प्राप्त गर्ने फोलेटले प्रोस्टेट र कोलोन क्यान्सर जस्ता निश्चित क्यान्सरहरूको जोखिम कम गर्न सक्छ । एभोकाडोमा रहेको पोषक तत्वले क्यान्सर रोग निवारण गर्न मद्दत पनि गर्नसक्छ । यो यस्तो पौष्टिक तत्वले भरिएको फल हो, जुन खाएपछि भोक लागेको महसुस हुँदैन ।

धैरै मात्रामा फाइबर पाइने यो फल सेवन गर्दा चाँडै भोक लाग्दैन । भोक नलागे पनि शरीरमा शक्ति प्रदान गरेको हुन्छ । भोक चाँडै नलाग्नाले मानिसको तौल घटाउन पनि सहयोग पुग्छ । एभोकाडोबाट औषधीय गुणहरू भएको तेल पनि निकाल्न सकिन्छ ।

यसको सेवनले ओस्टियोआर्थराइटिस लक्षणहरू कम गर्न सक्छ । एभोकाडोमा पाइने भिटामिन ‘के’ ले हड्डीमा हुने क्षति कम गर्छ । ओस्टियोपोरोसिस समस्याबाट बचाएर शरीरको हड्डीलाई स्वस्थ बनाउँछ । एभोकाडोमा फोलेटको उच्च स्तर हुन्छ । यसले डिप्रेसनका लक्षणहरू हटाइदिन मद्दत गर्न सक्छ । दीर्घकालीन मधुमेह, अल्जाइमर रोग, र गठियासहित धेरै रोगहरूका लागि यो फल प्रभावकारी हुनछ । एभोकाडोमा पाइने भिटामिन ईले मानिसको शरीर फुल्ने क्रमलाई कम गर्छ ।

यो फल फाइबरले भरिएको हुन्छ । तिनीहरू विशेष गरी अघुलनशील फाइबरमा उच्च छन् । यसमा हुने फाइबरले मानिसको स्वास्थ्यलाई नियमितरूपमा संतुलनमा राख्छ र कब्जियतबाट पनि बचाउँछ । एभोकाडोमा पोटासियम प्रशस्त हुन्छ । पोटासियमले रगतमा सोडियमको स्तर घटाएर र रक्तनलीका पर्खालहरूमा तनाव कम गरेर रक्तचापको उचित स्तर बनाउन मद्दत गर्छ ।

एभोकाडोमा स्वस्थ बोसो ‘ओलिक एसिड’ पाइन्छ । मोनोअनस्याचुरेटेड फ्याटी एसिड हुन्छ । फलफूलजन्य यसमा पाइने एक किसिमको बोसोले मुटु सुनिन दिँदैन । यस्तै यसमा बिटा–सिटोस्टेरोल भनिने पोषक तत्व पनि हुन्छ । यस पोषक तत्वले कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ ।

यस्तै यस फलमा लुटेन र जेक्सान्थिन दुई एन्टिअक्सिडेन्टहरू हुन्छन् । यी तत्वहरू आँखाका लागि प्रभावकारी मानिन्छ । तिनीहरूले यूवी प्रकाशको क्षतिबाट आँखाका तन्तुहरूलाई जोगाउन मद्दत गर्छन् । मोतिबिन्दु र म्याकुलर डिजेनेसन दुवैलाई रोक्न मद्दत गर्छन्।

यस्तै गर्भावस्थामा रहेका महिलाका लागि पनि यो फल निकै नै लाभदायक मानिन्छ । यसले गर्भमा रहेको बच्चाको मस्तिष्क र मेरुदण्डमा जन्म दोषहरू रोक्न मद्दत गर्छ । गर्भावस्थाको समयमा दिनको कम्तिमा चारसय माइक्रोग्राम फोलेटको मात्रा हुने परिमाणमा एभोकाडो खान उत्तम मानिन्छ ।

प्रतिक्रिया