पश्चिमा देशले अस्त्र किएभलाई उपलब्ध गराए आक्रमण थप विस्तार गर्ने रुसी राष्ट्रपतिको चेतावनी

काठमाडाैं । यदि पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतबार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो ।
रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ । युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन् ।
रुसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुन: केन्द्रित गरेको थियो । रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ । उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन् ।
हालै मात्र अमेरिकाले एम-१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो ।त्यसले हाल युक्रेनसँग रहेका त्यस्ता प्रणालीभन्दा निकै परसम्म र सटीक ढङ्गले निसानामा प्रहार गर्नसक्छ । बीबीसी

प्रतिक्रिया