इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले जबर्जस्ती नगरोस् : थापा

नेपालखोज २०७९ जेठ २३ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले जबर्जस्ती नगरोस् भन्दै सचेत गराएका छन् । उनले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाए । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक सूचनामार्फत वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यकरुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति प्रकट गरे । नम्बर प्लेट जडान गर्दा अत्यधिक शुल्क लिइएको, त्यसको गुणस्तरसमेत नभएको भन्दै प्रयोगकर्तालेसमेत गुनासो गरेका छन् । निजी सवारीसाधनमा आगामी साउन १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।

एकैपटक १५ लाख बढी सवारीसाधनमा उक्त नम्बर प्लेट जडान गर्नुपर्नेछ । त्यस आधारमा दैनिक ५५ सय जनाले सवारीसाधनमा उक्त नम्बर प्लेट राख्नुपर्ने देखिएको सांसद थापाको भनाइ छ । भौतिक संरचना र जनशक्तिसमेत नभएका अवस्थामा त्यसलाई सहजीकरण गर्नुपर्नेमा उल्टै उपभोक्तालाई डर देखाइएको भन्दै उनले त्यसमा सरकारकोसमेत दायित्व हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।

भारत र बंगलादेशको तुलनामा असाध्यै महँगो रहेको सो नम्बर प्लेट नागरिकले सस्तो र गुणस्तरीय पाउनुपर्नेमा जोड दिए । सांसद थापाले भने, ‘सरकारले जबर्जस्ती बन्द गरोस् होइन भने नागरिकले अवज्ञा गर्नेछन् ।’ सांसद थापाले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा हुन नसकेकामा आपत्ति प्रकट गरे । अन्य देशमा आफ्नै देशको लिपिमा हुनसक्ने, नेपालमा भने किन हुन सकेन भनेर नागरिकस्तरमा प्रश्न उठेको सांसद थापाको भनाइ छ ।

तोकिएको जिम्मेवारी सम्बन्धित यातायात व्यवस्था कार्यालयले पूरा नगरेको यातायात व्यवस्था विभागका महानिर्देशकले नै सार्वजनिक रुपमा बताएको तथ्य पेस गर्दै उनले जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गर्ने कि नागरिकलाई डर देखाएर तर्साउने भन्दै जिज्ञासा व्यक्त गरे ।

प्रतिक्रिया