‘नाडा अटो–शो २०२२’ को रजिस्ट्रेसन जेठ २६ देखि खोलिँदै

नेपालखोज २०७९ जेठ २३ गते १४:४७

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ ७ देखि १२ गतेसम्म सवारीसाधन, पार्ट–पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १५औं संस्करण ‘नाडा अटो शो २०२२’ आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिने नाडाले जानकारी दिएको छ । सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।

प्रदर्शनीमा दुईपाङग्रे, चारपाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्याइएको हुँदा सोहीअनुरूप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

विगतका संस्करणमा उल्लेखनीय रूपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरूलाई पनि सम्मिलित गर्ने उद्देश्यले कमर्सियल भेहिकलहरूको सहभागिताका लागि समेत स्टल बुकिङ रजिस्ट्रेसन आह्वान गरिएको छ ।

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रूपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा यस नाडा अटो शो २०२२ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एवं उद्यमीहरूमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ ऊर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया