राष्ट्र बैंकले गर्याे १५ अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुुसार जेठ २४ गते अर्थात भोलि मंगलबार चार वर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘छ’ (४ वर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले जेठ २४ गते अपरान्ह तीन बजेसम्म बोलपत्र पेस गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिति २०७९ जेठ २५ गते तोकिएको ऋणपत्रको साँवा भुक्तानी मिती २०८३ जेठ २५ तोकिएको छ ।
खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पुरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारीसमेत राष्ट्र बैंकले गरेको छ । खरिद गर्न पाउने सिमा घटिमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।
यी बाहेकका वाणिज्य बैंक, विकास बंैक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धिको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्ने छ ।


प्रतिक्रिया