सोमबार, असार १६, २०८२

मेयर बालेन्द्रले भने- अब काठमाडौंको फोहोर उठ्छ, कुहिने/नकुहिने छुट्याएर राखिदिनूस् है !

नेपालखोज २०७९ जेठ २४ गते १२:५१

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंको फोहोर अबदेखि उठ्ने जनाएका छन् । सामाजिक सन्जाल फेसबुककमा स्टाटस लेख्दै उनले यो काम सबैका लागि निसन्देहः खुसीको खबर भएको जनाएका छन् ।
मेयर साहले काठमाडौंको चोकबजारमा अहिलेसम्म फोहोर थुप्रिएर महानगरबासीले भोगेको दुःखप्रति क्षमा मागेका छन् । क्षमा माग्दै मेयर साह सामाजिक सन्जालमा लेख्छन्, ‘कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

मेयर साहले फोहोर उठ्नु मात्रै यसको समाधान नभएको उल्लेख गरेका छन् । यस क्षेत्रमा अझ धेरै गर्न बाँकी भएको जनाउँदै उनले आफूले फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहेको जनाएका छन् । उनी भन्छन्,‘ जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन । ’

काठमाडौंमा फोहोको समस्या समाधान गर्न सबैको साथसहयोगको आवश्यक भएको उनले जनाएका छन् । उनले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि निस्किएको फोहोर कुहिने र नकुहिने अवस्थामा छुट्याएर राखिदिन आग्रह गरेका छन् । उनले कुहिने र नकुहिने फोहोर दुई अलगअलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु पनि आग्रह गरेका छन् । फोहोरलाई दुई किसिमले व्यवस्थापन गरे स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउने अवस्था आउने उनको दाबी छ ।

महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्याउने बताउँदै उनले फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गरिने जनाएका छन् । मेयर साह फेसबुकमा लेख्छन्, ‘महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन । तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ ।’

प्रतिक्रिया