चार दिनदेखि हराइएकी बालिका मृत भेटिइन्

नेपालखोज २०७९ जेठ २४ गते १८:४०

वीरेन्द्रनगर । चार दिनदेखि हराइएकी सुर्खेतकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा फेला परेकी हुन् ।

शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन् । सो दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट प्रहरीकोमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार बालिकाको शव विकको घरदेखि १०० मिटरको दूरीमा आज बिहान फेला परेको छ । चोट लागेको अवस्थामा बालिकाको शव फेला परेकाले उनको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीले शङ्कास्पद स्थानीय २० वर्षीय घनश्यान विकलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

प्रहरीले घटनाको स्थलगतरुपमा अनुसन्धान गरिरहेको बताएको छ । मृतावस्थामा ७ वर्षीया बालिका फेला परेको र प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेकाले पूर्ण वितरण नआइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । शव परीक्षणपछि हत्या भए नभएको रिपोर्ट आउने उनले बताए । रासस

प्रतिक्रिया