संयुक्त राष्ट्रसंघको पारमाणविक निगरानी निकायले झूटो बोलेको युक्रेनको आरोप

किएभ । युक्रेनको सरकारी पारमाणविक कम्पनीले संयुक्त राष्ट्रसंघको पारमाणविक निगरानी निकायका प्रमुखले रुस नियन्त्रित ऊर्जा केन्द्रको योजनाबद्ध भ्रमणबारे झूटो बोलेको आरोप लगाएको छ । उक्त निकायका प्रमुख राफाएल ग्रोसीले सोमवार युक्रेनले अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी (आईएईए) लाई जापोरिज्या आणविक केन्द्रको भ्रमण गर्न निम्ता दिएको बताएका थिए ।
तर युक्रेनी सरकारी पारमाणविक कम्पनी इनर्गोएटमले त्यस्तो कुनै निम्ता नदिइएको र उक्त केन्द्रमा हुने त्यस्तो भ्रमणले त्यहाँ रुसी उपस्थितिलाई वैधानिकता दिने बताएको छ । यद्यपि ग्रोसीले आफूहरूमाथि झूटो बोलेको भनी लागेको आरोपलाई बेतुकको कुरा भनेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले भने, ’यो युद्ध हो र त्यसमा विभिन्न खाले भावनाहरू छन् ।’तर उनले आफ्नो संगठनले सुरक्षाको निरीक्षण गर्नु एउटा बाध्यात्मक अनुबन्धद्वारा निर्देशित दायित्व भएको दाबी गरे ।
उनले त्यो काम भनेको कुनै शिष्टाचारका लागि हुने निमन्त्रणा नभएकाले त्यसलाई विस्तार गर्न सकिन्छ वा सकिँदैन भन्ने नहुने बताए। उनले सोमवार ट्वीट गर्दै आफूहरूले उक्त केन्द्रमा विशेषज्ञ समूह पठाउने काम गरिरहेको जनाएका थिए । उनले लेखेका थिए, ’युक्रेनले हामीलाई अनुरोध गर्यो, हामी त्यहाँ जानेछौँ ।
आईएईए संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय निकाय हो र त्यसले परमाणु प्रविधिको सुरक्षित प्रयोगलाई बढावा दिन राज्यहरूसँग मिलेर काम गर्छ । युक्रेनको सरकारी पारमाणविक कम्पनी इनर्गोएटमले मङ्गलवार क्रुद्ध हुँदै एउटा वक्तव्य जारी गरेको छ । त्यसमा उसले ग्रोसीले युक्रेनले त्यस क्षेत्रमा भ्रमण गर्न निम्ता दिएको झूटो दाबी गरेको उल्लेख छ । वक्तव्यमा कुनै पनि भ्रमण ‘जबरजस्ती कब्जा गर्नेहरूको कदमलाई वैधानिक बनाउने माध्यम‘ हुनेछ भनिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार उक्त स्थानमा हुने सम्भावित भ्रमणका लागि आईएईए रुसी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ।
रुसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि मार्चको सुरुमा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या पारमाणविक ऊर्जा केन्द्र कब्जा गरेको थियो । रुसी सेनाले ऊर्जा केन्द्रका भवनहरू कब्जा गरेपछि त्यसको अन्तर्राष्ट्रिय रूपमा विरोध भएको थियो । तर त्यहाँका कुनै महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छैन र विकिरणको स्तर पनि सामान्य रहेको छ । युक्रेनी कर्मचारीहरूले रुसी आदेश अन्तर्गत त्यहाँ काम जारी राखेका छन् । ग्रोसीले महिनौँदेखि जापोरिज्याको अवस्थाले सुरक्षा जोखिम खडा गरेको बताइरहेका छन् र उनी त्यहाँ जाने टोलीको नेतृत्व गर्न चाहन्छन् ।
उक्त केन्द्रबाट सुरक्षासम्बन्धी विवरणहरू आईएईएलाई नियमित रूपमा पठाइने गरेकोमा हाल त्यो पठाइएको छैन । त्यस्तै युक्रेनी कर्मचारी अत्यन्तै तनावपूर्ण र चुनौतीपूर्ण परिस्थितिमा काम गरिरहेको आईएईए प्रमुखले सोमवार जारी वक्तव्यमा भनेका छन् ।
स्वचालित रूपमा सूचना प्रविधिका माध्यमबाट प्रसार भएर आईईएलाई प्राप्त हुनुपर्ने सुरक्षासम्बन्धी विवरण उसले प्राप्त नगरेको विषयमा पनि युक्रेनी सरकारी पारमाणविक कम्पनीले प्रश्न उठाएको छ। उसले आईईएकै सहमतिमा उक्त प्रणालीलाई अवरुद्ध गरिएको दाबी गरेको छ । तर ग्रोसीले उक्त आरोपलाई लापरबाहीपूर्ण अभिव्यक्ति र अति भावुक भएर दिइएको वक्तव्य भनेका छन् । -बीबीसी








प्रतिक्रिया