गगन थापाले भने- काठमाडौंको फोहर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ

नेपालखोज २०७९ जेठ २५ गते १४:२५

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए । कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले भने, ‘काठमाडौंको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु ।’

सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ । फोहरमुक्त काठमाडौं अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाहरुले संघसंस्थाको साथमा काम अघि बढाउन पनि आग्रह गरे ।

सांसद अमनलाल मोदीले नागरिकता अभावले बालबालिकाले विद्यालय भर्ना हुन नपाएको जनाउँदै नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाइनुपर्ने माग गरे । उनले थारु समुदाय, मधेसी उत्पीडनमा परेका समुदाय तथा टीकापुरका बन्दी रिहाइको माग पनि गरे।

सांसद आशाकुमारी विकले दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु, घटना बढिरहेको तथा हिजो मात्रै सुर्खेतमा सात वर्षिया बालिका गृष्म विक मृत फेला परेको, बाँकेको खजुरामा जन्मदिन मनाउन गएका बालबालिकाको सामूहिक बलात्कार भएको लगायत जघन्य अपराध गर्ने दोषीलाई कारबाही गर्न माग गरे । सांसद उमाशंका र अर्गरियाले कृषिप्रधान देश नेपालमा कृषकले पटक-पटक मल अभाव भोग्नुपरेको भन्दै यो पटक कृषकलाई मलखादको अभाव हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

सांसद खगराज अधिकारीले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी तत्काल खोलेर समस्या समाधानतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले महाअभियोगको प्रस्ताव तत्काल अघि बढाउन पनि माग गरे । सांसद खेमप्रसाद लोहनी देशमा अराजकता र अशान्ति बढिरहेको तथा जघन्य किसिमका हत्या र बलात्कारका घटना दिनानुदिन बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बर्दिया घटनामा हत्याका दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचार गर्न माग गरे ।

सांसद गोपालबहादुर बलमे मुगु जिल्लाका कैदीबन्दीले विभिन्न समस्या झेलिरहेको भन्दै कारागारको व्यवस्थापन गर्न माग गरे । सांसद गंगा चौधरीले मुलुकमा हत्या, बलात्कार लगायतका घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद घनश्याम खतिवडाले मोरङको बक्राह खोलालगायत आयोजनाको ठेक्का लागिसके पनि काम नभएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद चाँद ताराकुमारीले केही अनलाइनले ठूला नेता र सेलिब्रेटीको चरित्रहत्या गर्ने काम भइरहेको जनाउँदै दोषीमाथि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । अर्का सांसद झपटबहादुर रावल लगायतले किसानहरुले मलखादको अभावले आक्रान्त बनेको जनाउँदै उनीहरुले कहिलेसम्म मल पाउँछन् भनी जवाफ माग गरे ।

प्रतिक्रिया