अन्याय, अत्याचार र भ्रष्टचारविरुद्ध भृकुटीमण्डपमा विरोध र्‍याली गर्ने घोषणा

नेपालखोज २०७९ जेठ २५ गते २१:३२

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध बृहत विरोध र्याली गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै आगामी जेठ २७ गते ११ः३० बजे भृकुटीमण्डपमा विरोध र्याली सुरु गरेर वसन्तपुरमा कोणसभा गरी समापन गर्ने जानकारी दिइएको हो ।

मोर्चाले राष्ट्रघात, भ्रष्टाचार, दण्डहिनता, विकृति, विसंगतिविरुद्धको कार्यक्रममा ऐक्यवद्धता जनाउन सम्पुर्ण देशवासीलाई आग्रह गरेको छ । मोर्चाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज, निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न, अखण्ड नेपाल कायम गर्न माग अघि बढाएको छ । यसैगरी, संयुक्त मोर्चाले राजसंस्थासहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापना, भारत र चीनसँगको सुमधुर सम्बन्ध कायम राख्दै असंलग्न परराष्ट्र नीतिअनुसार दुवै देशसँग दौत्य सम्बन्ध कायम राख्न माग गरेको छ । मोर्चाले लिपुलेक, लिम्पियाधुरामा जनगणना र स्थानीय चुनाव नगरेकोमा पनि आपत्ति जनाएको छ । र, यसको जवाफ जनतालाई दिनुपर्नेसमेत माग अघि सारेको छ । यस्तै, मोार्चाले लिपुलेक, कालापानीसहितको नयाँ नक्शा अविलम्ब पाठ्यक्रममा समावेश गर्न पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका सह–अध्यक्ष विष्णुप्रसाद भट्टराइले स्थानीय निकायको निर्वाचन सकिँदै गर्दा राजनीतिक दलहरुले एकले अर्कालाई धाँधली गरेको भनेर आरोप लगाएको सुन्दा हाँसो उठेको सुनाए । राजा वीरेन्द्रको वंश विनास भएको दिन जेठ १९ गते नेपालगञ्जमा शालिक राख्न नदिएर अपमान गरेको भन्दै भट्टराईले त्यस घटनामा पनि आपक्ति जनाए । उनले गणतान्त्रिक मुलुकमा राजालाई छैटौं सूचीमा राखेको भन्दै दुःख व्यक्त गरे ।

पछिल्लो समय चर्चामा रहेको इम्बोस्र्ड नम्बर प्लेटको बारेमा बोल्दै उनले नेपालको संविधानको धारा ७ ले कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्छ भनेर लेखेको स्मरण गराए । उनले भने, ‘त्यो इम्बोस्ड भाषामा कतै नेपाली भाषा देख्नुहुन्छ ? कसले चलाएको छ ? संविधानले तय गरेको कामकाजको भाषा नेपाली हो, अनि सरकारले नै सबै इङ्लिसमा लेख्यो भने कारवाही गर्ला, कसले गर्ने कारवाही ?’ भ्रष्टाचारको विरुद्ध जनतालाई सचेत गराउनुपर्ने उनले बताए ।

पछिल्लो समय बलात्कारको मुद्दा पनि धेरै उठेका भन्दै उनले महिला बलात्कारी नै सरकारमा बसेको आरोप लगाए । उनले भने, ‘महिला बलात्कारी नै सरकारमा बसेको छ, त्यही बलात्कारीले बनाएको कानुन तपाईँहरुले मान्नुपर्छ ।’ उनले ९४ प्रतिशत नेपाली जनता हिन्दुत्वमा विश्वास गर्ने पनि ठोकुवा गरे । बलात्कारको मुद्दामा हदम्यादको विषय हटाएमा धेरै जना कारबाहीमा पर्ने उनले जिकिर गरे । उनले भने, ‘माओवादीलगायत कति पार्टीका मानिसहरु समानुपातिकको नाममा क–कसले कति गैरकानुनी सम्बन्ध राखेका छन्, ती सबै बलात्कारी भएर कारवाहीमा पर्लान की सिंहदरवारमा बसेर मन्त्री होलान त ? यसै कारणले गर्दा अपराधीको साम्राज्य हो । यसबारेमा पनि जनतालाई सूचित गर्नुपर्छ ।’

९४ प्रतिशत नेपालमा हिन्दु भएको उल्लेख गर्दै गत स्थानीय तहमा धर्मनिरपेक्ष भन्नेहरुले पनि धर्म निरपेक्षवादीलाई गणतन्त्रमा भोट हालेको उनले सुनाए । नेपालको राष्ट्रिय अखण्डता जोगाउन विरोध प्रदर्शनको आयोजना गरिएको उनले स्पष्ट पारे । प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी भ्रमणमा गएको प्रसंगमा बोल्दै भट्टराईले भने, ‘पापीलाई देवताले कस्तो दण्ड देलान् भन्नुहोस त ।’ गणतन्त्रलाई उनले ‘बलियाले खाने र कमजोरले हेर्ने’ व्यवस्थाको संज्ञा दिए । माओवादीले आफ्नै परिवारका दिदि बहिनीहरुलाई क्यान्टोन्टमेन्टमा लगेर बलात्कार गरेको र तीनीहरु नै आज सरकारमा रहेको पनि आरोप लगाए । उनले सबैलाई जेठ २७ गते विरोध सभामा उपस्थित हुन पनि आग्रह गरे । अन्याय, अत्याचार र भ्रष्टचारविरुद्ध मोर्चा लागिपरेको बताए ।

त्यस्तै, कार्यक्रममा संयोजक नव पन्तले आगामी २७ गते भृकुटीमण्डपबाट र्याली सुरु गरेर वसन्तपुरमा कोण सभा गरेर समापन गर्ने बताए । उनले झाँकीसहितको भव्य र्यालीमा सबैलाई सहभागि हुन आग्रह गरे । उनले गणतन्त्रको अन्त्य नेपाली जनताले चाहेको पनि बताए । देशमा खराब कुराको मात्र व्याख्या भएको भन्दै असल कुरा ब्यानर न्युज बन्नुपर्ने धारणा राखे ।
यसैगरी, मोर्चाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद लुइँटेलले नेपाली जनताको अवस्था निकै दयनीय भएको बताए । देशमा भएका उद्योग÷धन्दाहरु कमिशनको चक्करमा मासिएपछि आज युवाहरु विदेशीन बाध्य भएको उनले टिप्पणी गरे । २०४७ साल अघि कुनैपनि नेपाली जनता विदेशिन नपरेको यर्थाथ सुनाए ।

मितेरी पार्टी नेपालका महासचिव खेमराज अधिकारीले आगामी जेठ २७ गते हुने विरोध कार्यक्रम एउटा कार्यक्रममात्र नभएर अस्तित्वको लडाईँ भएको दाबी गरे । उनले हिजोको दिनमा कम्युनिष्टहरुले महिला दिदी÷बहिनीहरुको टुप्पी काटिदिएको र ईज्जत लुटेकाहरुलाई आज तीनै जनताले भोट हालेकोमा आपत्ति जनाए ।

त्यस्तै, मितेरी पार्टी नेपालका अध्यक्ष तथा मोर्चाका उपाध्यक्ष खगेन्द्र बस्नेतले अन्याय, अत्यचार, भ्रष्टाचार र महंगी र देशघाती जनघाती राष्ट्रघाती सरकारको विरुद्ध सबै स्वाभिमानी नेपालीहरुको शीर उच्च गर्न विरोध गर्न आन्दोलन गर्न लागेको बताए । उनले उपत्यकाका सबैलाई विरोध र्यालीमा सहभागी हुन् आह्वान गरे । यसैगरी, मोर्चाका राष्ट्रिय संयोजक शोभराम थापाले मोर्चा केही दिन चुप बसेको उल्लेख गर्दै एमसीसी सरकारका मतियारले मुलुक नै एमसीसीमय बनाउनसक्ने भन्दै फेरी जुर्मुराउन थालेको सुनाए ।

त्यस्तै, मोर्चाका राष्ट्रिय संयोजक शेखरजंग रायमाझीले देशमा अहिले रोजगारी पाउन र हातमुख जोड्न युवाहरु विदेश जान बाध्य भएको उल्लेख गरे । गणतन्त्रलाई उनले ‘जनता दरिद्र हुने र राष्ट्र कंगाल हुने व्यवस्थाको’ संज्ञा दिए ।

कार्यक्रमको समापन गर्दै मोर्चाका अध्यक्ष तारानाथ लुईँटेलले पछिल्लो समय बलात्कारको घट्ना बढेको सुनाए । उनले भने, ‘एउटी महिलालाई सुरक्षा सरकारले दिन सक्दैन् । सरकारले बलात्कारका घटनाको जिम्मा लिनुपर्छ ।’ सरकारलाई कायरको संज्ञा दिँदै उनले भने,‘यस्तो कायर सरकार नेपाली जनतालाई चाहिँदैन । अब जनताले गणतन्त्रलाई पशुपति आर्यघाटमा सेलाउन चाहन्छन् । अब चाडैनै जनताले दाहसंस्कार गर्नुपर्छ ।’ त्यसको लागि बृहत प्रदर्शनको आयोजना गरिएको उनले बताए ।

प्रतिक्रिया