विपत्‌का घटना, क्षति न्यूनीकरण तथा राहत व्यवस्थापनमा सरकारको ध्यान खोइ ?

नेपालखोज २०७९ जेठ २६ गते १३:३४

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मनसुन सुरु भइसकेकाले विपत्‌का घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विगतमा विपत्‌ प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराए ।

सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरुलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे । सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग आग्रह गरिन् ।

सांसद दिव्यमणि राजभण्डारीले सार्वजनिक बिदा दिने र हटाउने कुरा आफूखुसी नगरी उपयुक्त नियम बनाई दीर्घकालीन रुपमा लागु हुने परिपाटी बसाउन ध्यानाकर्षण गराए ।

सांसद दुर्गाबहादुर राउतले सरकारले न्यूनतम ज्याला तोकेको भए पनि महिला स्वयंसेविका लगायतको तलब नबढेको भन्दै ध्यानाकर्षण गराए । उनले पुस्तक नपुगेका जिल्लामा तत्काल पुर्‍याउन पनि माग गरे ।

सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक पेस गर्न माग गरे । सांसद नवीना लामाले पुस्तक अभाव किन भयो भनी सरकारसँग प्रश्न गरे । सांसद नवराज सिलवालले संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । स्वास्थ्यमा देखिएको विकृति नियन्त्रण गर्न उनले ध्यानाकर्षण गराए । सांसद पुष्पा भुषाल गौतमले कोरोना बीमाको रकम नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

स्कुल समयमा र सरकारी समय फरक पार्न माग

प्रतिनिधिसभाको शून्य समयमा सांसद प्रकाशमान सिंहले काठमाडौंको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गरे । उनले अबको समयमा ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता औँल्याए ।

सांसद देवप्रसाद गुरुङले मध्यपहाडी लोकमार्गको लमजुङ क्षेत्र, मस्र्याङ्दी करिडोरको सडक निर्माण अवरुद्ध भएको तथा चेपे करिडोरको बाटोसमेत अघि बढ्न नसकेको भन्दै ती सडक शीघ्र अघि बढाउन ध्यानाकर्षण गराए ।

सांसद टेकबहादुर बस्नेतले किसानलाई मल दिन सरकारसँग माग गरे । सांसद डिला सङ्ग्रौलाले फोहरले काठमाडौं दुर्गन्ध भएको, युवाले रोजगार नपाएको, कानुनको शासन हुन नसकेको, विद्यार्थीलाई पढ्ने पाठ्यपुस्तक नभएको, महँगी बढ्दो क्रममा रहेको तथा हत्या, हिंसा, बलात्कार प्रभावितले न्याय नपाउने अवस्था आएकाले उचित सम्बोधन गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया