बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र

बेनी । म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा लामो समयदेखि युवाले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रङ्गशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र बनेको छ ।
खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडी यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको भए पनि केही वर्षयता खुलामञ्च खेलमैदान प्रयोगविहीन बनेको छ । खुुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थितरुपमा राखिएको कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगितासमेत प्रभावित बनेका छन् भने बेनीस्थित विभिन्न विद्यालय र क्लबका खेलाडीले खेल अभ्यास राम्रोसँग गर्न पाएका छैनन् ।
मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्यारापिट बनाउने पूर्वाधारसमेत बीचैमा अलपत्र बनेका छन् । पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवालाई खेलकुद अभ्यासमा कठिनाइ र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रीन युवा क्लबका अध्यक्ष नीरज राम्जालीले बताए । ‘खुलामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न गाह्रो छ, ढुङ्गा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्रालगायतका सामग्री खुलामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप बिग्रिएको छ, खेलकुद अभ्यासमा युवा घाइते हुने अवस्था सिर्जना भएको छ’, अध्यक्ष राम्जालीले भने ।
खुलामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढे पनि बजेटको निरन्तरता नहुँदा पूर्वाधार निर्माण अलपत्र परेको हो । खुलामञ्च खेलमैदान मात्र नभएर व्यापारिक मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थल पनि हो । बजेटमा निरन्तरता नहुँदा निर्माणाधीन प्यारापिट अलपत्र छ ।
संघ, प्रदेश र स्थानीय तहले खुलामञ्चको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लबको गुनासो छ । अलपत्र अवस्थामा रहेको खुलामञ्चलाई पूर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । कालीगण्डकी किनारतर्फ खुलामञ्चलाई फराकिलो बनाउने किसिमले प्यारापिट निर्माणका लागि सुरु गरिएको काम पिल्लर राख्नेमा मात्र सीमित भएको छ ।
जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्यारापिटसहितको स्तरीय रङ्गशाला बनाउने योजनासँगै जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित रु नौ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो । कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानोभन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको मिनी स्टेडियम बनाउने योजना छ ।
हालसम्म रु तीन करोडभन्दा बढी लगानी भएको खुलामञ्चलाई व्यवस्थित बनाउन रु नौ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण प्रभावित बनेको हो । आर्थिक वर्ष २०७७/०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन । आव २०७८÷७९ मा पनि विगतमा दिएको आश्वासनअनुसार बजेट विनियोजन नहुँदा खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै बन्ने भएको हो ।

प्रतिक्रिया