अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा

नेपालखोज २०७९ जेठ २६ गते २१:२७

काठमाडाैं । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

नेपाली सेनाका अनुसार उनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण तालिकाअनुसार सगरमाथाको आधार शिविर पुग्ने तथा आइतबार उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नेछन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा उनको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा फ्लिनले नेपाल सरकारका उच्च नेतृत्वसँग पनि शिष्टाचार भेटघाट गर्नुहुने जनाइएको छ । उनले आफ्नो बसाइका क्रममा नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पु¥याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया