नेपाल र स्पेनले द्विपक्षीय सम्बन्धमा जाेड दिने

नेपालखोज २०७९ जेठ २७ गते १५:५४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारियार्‍याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्ध तथा साँस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको छ ।

उक्त भेटवार्ता एवं छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमशृङ्खला अवलोकन गर्न आउन आग्रह गरे । उनले भने, ‘नेपालमा कोरोना संक्रमण दर करिब–करिब अन्त्य भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउन आग्रह गर्दछौँ ।’

सोही क्रममा मन्त्री आलेले जलवायु परिवर्तनका विषयमा स्पनेले लिएको नेतृत्व स्वागतयोग्य रहेको बताए । यसैगरी मन्त्री आलेले नेपालले हालै ‘आइकाओ सेफ्टी अडिट’मा नेपालले गरेको उल्लेखनीय प्रगतिका बारेमा राजदूत डोमिनगेजुलाई जानकारी गराए ।

सोही भेटवार्ताकै क्रममा मन्त्री आलेले स्पेन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै नेपाललाई कोभिड-१९ तथा महाभूकम्पका बखत संयुक्त राष्ट्रसंघमा सहयोगका लागि लिएको कदमका लागि स्पनेले गरेको सहयोगका लागि धन्यवादसमेत ज्ञापन गरे ।

सोही छलफल एवं भेटवार्ताका क्रममा स्पेनका राजदूत डोमिनगेजुले नेपाल र स्पेनबीच सुमधुर सम्बन्ध रहेको साथै साँस्कृतिक तथा व्यापारिक सम्बन्धमा थप विस्तार गरी सम्बन्ध थप सुदृढ गर्न सकिने बताए । उनले भने, ‘नेपाल-स्पेनबीच सुमधुर सम्बन्ध रहेको छ, हामी आवश्यकता परेका बखत नेपाललाई थप विकासका काम सहयोग गर्न तयार रहेका छौँ ।’

यसैगरी राजदूत डोमिनगेजुले वातावरण तथा जलवायुजस्तो महत्वपूर्ण विषयमा स्पेन संवेदनशील रहेको र सो सम्बन्धी सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री आलेसमक्ष जानकारीसमेत गराए ।

प्रतिक्रिया